छिन्नलता पुरस्कार–२०८२ बाट गायन तर्फ इतु/रामभक्त जोजिजु दम्पती सम्मानित


     एभरेस्ट आवाज    
     असार २२ गते २०८२ मा प्रकाशित




पोखरा । बरिष्ठ गीतकार रमोला देवी शाह ‘छिन्नलता’को १०३ औं जन्मजयन्ती तथा ४३ औं छिन्नलता गीत पुरस्कार २०८२ को अवसरमा आइतबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाली गीत-संगीत क्षेत्रका विशिष्ट स्रष्टाहरूलाई सम्मानित गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि, सम्माननीय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चार विधामा छनोट गरिएका स्रष्टाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरे।

यस वर्षको छिन्नलता गीत पुरस्कार अन्तर्गत गीत रचना विधामा वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई नगद १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। संगीत सिर्जना विधामा अच्युतप्रसाद फुयाल (आभास) लाई १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। संयुक्त गायन विधामा वरिष्ठ गायक रामभक्त जोजिजु तथा गायिका श्रीमती इतु जोजिजुलाई संयुक्त रूपमा १ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ। युवा प्रतिभा पुरस्कार अन्तर्गत एस.डी. योगीलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।

सभामुख घिमिरेले नेपाली गीत–संगीतको क्षेत्रमा जीवन समर्पण गरेका स्रष्टाहरूको योगदान अमूल्य रहेको उल्लेख गर्दै, यस्ता सम्मानले भावी पुस्तालाई सिर्जनात्मक प्रेरणा दिने विश्वास व्यक्त गरे।

नेपाली गीत–संगीतको क्षेत्रमा योगदान दिने स्रष्टाहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९८२ (वि.सं. २०३९) देखि सुरु गरिएको छिन्नलता पुरस्कार प्रारम्भमा गीतकारहरूका लागि मात्र प्रदान गरिन्थ्यो। तर वि.सं. २०४१ देखि यो पुरस्कार गायन तथा संगीत विधाका स्रष्टाहरूलाई समेत समेट्ने गरी विस्तार गरिएको थियो। वि.सं. २०४६ देखि हरेक वर्ष एक जना गीतकार, एक जना संगीतकार र एक जना गायक/गायिकालाई नियमितरूपमा पुरस्कार प्रदान गर्ने परम्परा सुरु गरिएको हो।

कार्यक्रममा छिन्नलता पुरस्कार संस्थाका पदाधिकारी, सांगीतिक क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, कलाकार, सञ्चारकर्मी तथा संगीतप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।