तानाबाता पर्वमा जापानी संस्कृति झल्किने कार्यक्रम पोखरामा सम्पन्न


     एभरेस्ट आवाज    
     असार २३ गते २०८२ मा प्रकाशित




पोखरा । जापानको परम्परागत सांस्कृतिक पर्व तानाबाताको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ। ल्याङ्ग्वेज एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा पोखराका विभिन्न जापानी भाषा विद्यालयहरूबाट १२०० भन्दा बढी सहभागी भएका थिए। सहभागीमध्ये अधिकांश जापानमा उच्च शिक्षाको लागि तयारी गरिरहेका विद्यार्थीहरू थिए।

ल्याङ्ग्वेज एसोसिएसन अफ नेपालका अध्यक्ष सृजन भान्साकार्यले अध्यक्षता गर्नु भएको कार्यक्रमको संयोजन संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार प्रकाश कुमार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा अतिथिको रूपमा एसिया जापानिज एकेडेमीका निर्देशक प्रो. धर्मराज अधिकारी, स्वतन्त्र शैक्षिक परामर्श संघ फेकन गण्डकी अध्यक्ष सुजन बहादुर बस्नेत, र इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्रे सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागीहरूले ओरिगामि सिक्ने, जापानी पारम्परिक पोशाक लगाउने, फोटो खिच्ने, र जापानी परिकार सुसीको स्वाद लिने अवसर पाए। साथै जापानी भाषा र संस्कृतिका विविध पक्षहरूको पनि जानकारी प्राप्त गर्न सके। जापानी सांस्कृतिक झलकले विद्यार्थीहरूमा थप उत्साह र जिज्ञासा जागृत गराएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव बालकृष्ण शर्माले गर्नुभएको थियो। उहाँले यस्ता कार्यक्रमहरू जापान जाने विद्यार्थीहरूका लागि उपयोगी हुने बताउँदै संस्था निरन्तर विद्यार्थीको हकहितमा काम गरिरहेको उल्लेख गर्नुभयो। संयोजक प्रकाश श्रेष्ठले जापान जानुअघि त्यहाँको संस्कृति बुझ्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। अध्यक्ष सृजन भान्साकार्यले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।