नेवाः संस्कृति सम्बन्धि चलचित्र ‘लाखे आजु’ भोलि पोखरामा प्रदर्शन हुँदै


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८२ मा प्रकाशित




पोखरा, साउन २

नेवारी संस्कृतिमा आधारित सांस्कृतिक चलचित्र ‘लाखे आजु; भोलि पोखरामा प्रदर्शन हुने भएको छ । नेवा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सदैव लागिरहेको नेवाः मिसा पुचः पृथ्वीचोकको आयोजनामा भोलि शनिबार पोखरामा ‘लाखे आजु’ प्रदर्शन हुन लागेको हो । बाराही चलचित्र मन्दिर, तेर्सापट्टी, पोखरामा विहान ८ बजेदेखि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

नेवारी, परम्परा, संस्कृति र भाषामा बनाइएको चलचित्रमा सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ भने नेपाली चलचित्रका प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ तथा मदनदास श्रेष्ठकोसमेत भूमिका रहेको छ । आर्यम नकर्मीद्वारा निर्देशित तथा चलचित्रका निर्माता गोपाल कायस्थ, प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी प्रधान र दिपक श्रेष्ठ रहेको चलचित्रमा नेवाः परम्परामा रहेको लाखेको वास्तविक कथा के हो र किन लाखे नचाइन्छ भन्नेमा केन्द्रित रहेको छ । नेवारी, भाषा, संस्कृति र परम्परामा रहेको भएपनि नेपालीमा भाषामा डबिङ गरिएकाले चलचित्र गैरनेवारलेपनि सजिलै बुझ्न सकिनेछ ।

लाखे नृत्य प्रति नेवाःहरुमा मात्र नभइ अन्य जातिहरुमा समेत जनरुचि बढिरहेको अवस्थामा नेपाली भाषामा प्रदर्शन हुन गइरहेको यस चलचित्रले नेवारी संस्कार, संस्कृति, परम्परासँगै लाखे नाचको बारेमा बुझ्न सघाउने अपेक्षा गरिएको छ ।

नेवाः मिसा पुच पृथ्वीचोक संस्कृति संरक्षणमा अग्रणी संस्था हो । नेवाः मिसा पुचः पृथ्वीचोकले लाखे नाच प्रतियोगिता, नेवाः झ्व भ्वय कार्यक्रम, स्वन्ति नखः महोत्सव तथा अन्य बिभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेर नेवारी संस्कृति सम्वद्र्दन, प्रवद्र्दन गर्दै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।