पदयात्रा पर्यटन सुधारका लागि टान गण्डकीको १४ बुँदे ध्यानाकर्षण

- पदयात्रामा गाईड अनिवार्य गर्ने निर्णय कार्यान्वयन गर्न माग


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ६

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयलाई गण्डकी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सुधार सम्बन्धि १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, निवर्तमान अध्यक्ष धर्मराज पन्थी सहितको टोलीले पर्यटन क्षेत्रको गुणस्तर, सुरक्षा, अवैध ट्रेकिङ न्यूनीकरण, पूर्वाधार सुधार लगायतका ११ बुँदे घोषणा पत्र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा संघ सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर साही ठकुरीलाई बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा टान गण्डकीले पदयात्रा पर्यटनको दिर्घकालीन नीति निर्माणदेखि पूर्वाधार निर्माण, ट्रेकिङको सूचना प्रणाली सुदृढीकरणमा जोड दिएको छ । टान गण्डकीले ट्रेकिङमा जानेहरुका लागि मौसम, बाटो, दुर्घटना तथा अन्य जोखिमका बारेमा पर्यटकलाई समयमै जानकारी दिन यथेष्ट सूचना व्यवस्थापन प्रणालीको व्यवस्था गर्न माग गरेको छ । ट्रेकिङ मार्गमा आवश्यकताअनुसार होटेल, रेस्टुरेन्ट, ट्रेल सेवा, शौचालय, इन्टरनेटजस्ता सुविधाहरूमा सुधार गर्न मागसमेत गरिएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

टान गण्डकीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा एउटै परमिटबाट सबै क्षेत्रमा प्रवेश गर्ने व्यवस्था गरी पर्यटकको यात्रा सहज र व्यवस्थित बनाउन, एक्याप नवीकरण नभएको अवस्थामा शुल्क संकलन भइरहेको गुनासो आएकाले त्यसको वैधानिकता स्पष्ट गरी कार्यान्वयन गर्न तथा एक्यापको प्रवेश नाकामा ट्रेकिङ सूचना केन्द्र स्थापना गर्न आग्रह गरेको छ । एसले अवैध ट्रेकिङ गतिविधि रोक्न कडाइका साथ निगरानी गर्न र अनिवार्य गाइड लैजाने नियम कार्यान्वयनका लागि एक्यापलाई निर्देशन दिन आग्रह गरेको छ । ट्रेकिङ गन्तव्य क्षेत्रको समृद्धि तथा व्यवस्थापनका लागि स्थानीय तह, टान, स्थानीय पर्यटनसँग सम्बद्ध संघ संस्था तथा नीजि क्षेत्रबीच सहकार्य गर्ने, सम्भावित नयाँ ट्रेकिङ मार्गहरूको पहिचान र प्रवद्र्धनमा जोड दिनुपर्ने, ट्रेकिङ रुटहरुमा पर्यटन मैत्री होटेल तथा आवास व्यवस्थाको सुधारमा जोड दिइएको अध्यक्ष आचार्यले बताए ।

त्यस्तै, ट्रेकिङ मार्ग वरपरका वन क्षेत्र र जैविक विविधताको संरक्षणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।