केसीविरुद्धको अनुशासन कारबाहीपछि कांग्रेस कास्की सभापति बरालको खुला पत्र : “यो व्यक्तिगत बदला होइन, पार्टी प्रतिको जिम्मेवारी हो”


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८२ मा प्रकाशित




पोखरा ।नेपाली कांग्रेस कास्कीका सभापति तथा २०७९ सालको संघीय निर्वाचनका उम्मेदवार किशोर दत्त बरालले अनुशासन समितिबाट कारबाही सिफारिसमा परेका पार्टी नेता कृष्णबहादुर केसीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक खुला पत्र लेख्दै पार्टी र व्यक्तिगत सम्बन्धका बिचको संवेदनशील सन्तुलनबारे धारणा सार्वजनिक गरेका छन्।

सातपृष्ठ लामो भावनात्मक र राजनीतिकरूपमा गहिरो पत्रमा बरालले लेखेका छन् — “तपाईंलाई कारबाही सिफारिस हुनुमा मलाई खुशी लागेको होइन। तर पार्टीभित्रको अनुशासन, मूल्य र उत्तरदायित्वका कारण यो आवश्यक भयो। यो कुनै व्यक्तिगत बदला होइन।”तपाईं विरुद्धको कारबाही ढिलो भयो कि चाँडो? कडा भयो कि नरम? त्यो बहसको विषय होइन। जे भयो, त्यसले एउटा नयाँ परिपाटी सुरु गरेको छ — गलत गरेकालाई कारबाही हुने। त्यसले पार्टीभित्र गलत कार्य दोहोरिनुअघि डरको मनोविज्ञान सिर्जना गर्छ, जुन आवश्यक छ।

बरालले स्मरण गरेका छन् कि २०७९ को संसदीय निर्वाचनअघि केसीसँग लाजिम्पाटस्थित होटलमा भएको भेटमा “मलाई टिकट नदिए देखाइदिन्छु” भन्ने किसिमका आक्रोशपूर्ण अभिव्यक्तिहरू आएपछि आफू गम्भीर बन्नुपरेको थियो। सोही भेटमा मोहन ज्ञवाली र अर्जुन सिग्देल पनि सहभागी थिए।

बरालका अनुसार, निर्वाचनमा असहयोग र सम्भावित अन्तर्घातको प्रमाणसहित उनले र प्रदेश क्षेत्र १(ख) का उम्मेदवार दीपक गुरुङ (माइला) ले केसीविरुद्ध संयुक्त उजुरी दिएका थिए, जसका आधारमा केन्द्रले अनुशासन कारबाहीको सिफारिस गरेको हो।

पत्रमा बरालले पार्टीभित्र व्याप्त अनुशासनहीनता र गुटबन्दी संस्कृतिप्रति पनि गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले लेखेका छन्,

तपाईंले जस्तो नेताबाट त्यस्तो धारणा आउनु पीडादायक मात्र होइन, चिन्ताजनक पनि थियो। जब त्यही व्यवहार तपाईंले अन्य प्रतिस्पर्धीहरूप्रति पनि दोहोराउनुभयो भन्ने प्रमाणित भयो, मैले पार्टीको हितका लागि तपाईंविरुद्ध उजुरी गर्नुपर्‍यो।

चुनावको पराजयको दोष म कहिल्यै तपाईंमाथि थोपरेको छैन। तर तपाईंले सहयोग गर्नु भएन, केही व्यवहारहरू अन्तर्घाततर्फ उन्मुख थिए — त्यो सत्य हो, र मैले त्यसलाई प्रमाणसहित पार्टीमा प्रस्तुत गरेको हुँ। त्यो उजुरी दिपक गुरुङ (माइला) ज्यू सँग संयुक्त रूपमा पेश गरियो।

पार्टी अनुशासन समितिको निर्णय तपाईंलाई व्यक्तिगत रूपमा असहज लाग्न सक्छ, तर यसले समग्र रूपमा पार्टीलाई बलियो बनाउने सन्देश दिएको छ। इतिहासले प्रमाणित गरिसकेको छ — पार्टीमा अनुशासन तोड्नेहरूलाई माफी दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ। नैतिक सम्झौताको नाममा गुटीय स्वार्थ पालेर पार्टीको अनुशासन बिगार्नु आजको समस्या हो। हामीले अब यसको अन्त्य गर्नुपर्छ।

“नेपाली कांग्रेसमा ‘Moral Compromise Syndrome’ हावी हुँदै गएको छ — जहाँ समीकरण मिलाउने नाममा मूल्य र सिद्धान्त बेचिन्छ। यस्तो प्रवृत्तिले पार्टी कमजोर बनाउँछ।”

बरालले आफ्नो उजुरीलाई “पूर्वाग्रह होइन, चेतनापूर्ण संकल्प” भन्दै स्पष्ट पारेका छन्। उनी लेख्छन्, “नेताले चुनाव हार्दा भावनामा बगेर पार्टीभित्रै बिद्रोहको चेतावनी दिने प्रवृत्ति अब सह्य छैन। अनुशासनको लचकताले होइन, कडाइले मात्र संगठन बलियो हुन्छ।”

पत्रको अन्त्यमा बरालले केसीसँग विगतका सबै गुनासाहरुलाई बिर्सन आग्रह गर्दै लेखेका छन्, “अब म यी घटनाहरूलाई बिर्सन चाहन्छु। सक्नुहुन्छ भने तपाईं पनि बिर्सनुहोस्। संयम र आत्ममूल्यांकनले मात्र राजनीतिक भविष्य बलियो हुन्छ।”

“टिकट पाएन भने बिद्रोह गर्छु”, “देखाइदिन्छु” भन्ने शैलीले न त पार्टी बलियो हुन्छ, न तपाईंको छवि सुध्रन्छ। अहिले फेरि पनि “कारबाही फिर्ता भएन भने देखाइदिन्छु” भन्ने अभिव्यक्तिहरू प्रयोग गर्न थालिएको सुनिन्छ, जुन तपाईंजस्ता नेताबाट आशा गरिँदैन।

तपाईंको वरिपरि उभिएका केही अनुहारहरू तपाईंका शुभेच्छुक होलान् कि गुटीय स्वार्थ बोकेका होलान् — यो छुट्याउन सक्नु हुनेछ भन्ने आशा गरेको छु। यतिखेर आवेश होइन, आत्ममूल्यांकन र आत्मशुद्धिको समय हो। पार्टी परिवर्तन वा स्वतन्त्र उम्मेदवारी जस्ता भावनात्मक निर्णयहरूले तपाईंलाई क्षति मात्र पुर्‍याउँछ।

घृणा, आक्रोश र प्रतिशोधले होइन — संयम, आत्मनियन्त्रण, र सकारात्मक पुनर्निर्माणले भविष्य बनाइन्छ। तपाईं त्यो बाटो रोज्नुहुन्छ भन्ने शुभकामनासहित — लेखेका छन् ।

कांग्रेसभित्र यो घटनाले पार्टीभित्र गुटगत समीकरण, अनुशासन, र नेतृत्वको व्यवहारबारे थप बहस चर्काउने देखिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।