कास्कीको पर्यटकीय गाउँ धम्पुसमा कालोपत्रे सडक बन्ने, मन्त्रीद्वारा शिलान्यास


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०८२ मा प्रकाशित




पोखरा, साउन ९

कास्कीको आकर्षक पर्यटकीय गन्तव्य धम्पुस जाने बाटो कालोपत्रे हुने भएको छ । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–७ स्थित पर्यटकीय गन्तव्य धम्पुसमा गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)को ३० करोड १८ लाख ९४ हजारको लागतमा धम्पुस जाने बाटो कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गको हेमजा घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।

सो सडक खण्डमा कुल १३.३ किलोमिटर सडक कालोपत्रे हुने गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)का प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा घट्टेखोलादेखि धम्पुस सम्मको ७ किलोमिटर क्षेत्रमा अस्फाल्ट प्रविधिबाट पिच गरिनेछ । जहाँको सडकमा साढे पाँचदेखि ६ मिटरको बिचमा पिच हुने आयोजना प्रमुख भण्डारीले बताए । त्यसबाहेक धम्पुस–खानी गाउँसम्मको ६.३ किलोमिटर क्षेत्रमा भने डिबिएसटी प्रविधिको पिच हुनेछ भने सडकको दुबैतर्फ नाला राखिने उनले जानकारी दिए ।

आयोजनाको कुल लागत ५१ करोड ९८ लाख अनुमान गरिएको थियो तर टेण्डरमा जाँदा सडक निर्माण कम्पनीले ४० प्रतिशत घटेर ३० करोड १८ लाख ९४ हजारमा निर्माणको ठेक्का लिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत २०८१ साल फागुन २१ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनले बताए ।

सडक शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तोकिएकै समयमा सडक निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उनले भने,‘दुई वर्ष भनेर समय थप्ने, लापरवाही गर्ने कार्य नगर्न गम्भीर सचेत हुनूस् । अनि स्थानियलेपनि सडक तपाईंहरुकै हो । समयमै सम्पन्न गर्न सहयोग गर्नुहोला ।’

गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सडकको गुणस्तर कायम गर्न र समयमै सक्नका लागि आफूले खबरदारीसँगै आवश्यक परेको खण्डमा सहयोग गर्ने बताए ।

माछापुच्छ«े गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ र उपप्रमुख सीता अधिकारीले सडक निर्माणमा गाउँपालिकाको पूर्ण रुपमा सहयोग रहने प्रतिबद्दता जनाए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव ई.कमलकुमार अधिकारीले सडक निर्माणका लागि मन्त्रालयबाट आवश्यक सम्पूर्ण सहयोग रहने बताए ।

माछापुच्छ«े–७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीले सडक निर्माणको काम समयमै सक्नका लागि स्थानियको सहयोग आवश्यक रहने बताए । स्थानियले सडक निर्माणका लागि पहिलेपनि जग्गा दान गर्नुभएकै हो,उनले भने,‘फेरीपनि सडकको मापदण्डमा पर्ने जग्गा, जमिन छाड्नुपर्ने हुनसक्छ । त्यसमा त्याग गर्न तयार रहनका लागि म आग्रह गर्दछु ।’

पूर्व वडाध्यक्ष समबहादुर गुरुङ, स्थानिय समाजसेवी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका सभापती यदूनाथ अधिकारी, समाजसेवी जगनबहादुर गुरुङलगायतले सडक निर्माणसँगै धम्पुसको इतिहासमा सुनौलो दिन शुरु भएको बताउँदै उनीहरुले सडक निर्माणमा स्थानियको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्दता जनाए ।

२०६१ सालमा ट्रयाक खोलिएको घट्टेखोला–धम्पुस सडकमा २०७० सालमै स्थानियले आर्थिक सहयोग संकलन गरेरसडक निर्माणको प्रयास गरेका थिए । तर डिपीआर गर्दा अनुमानित लागतभन्दा दोब्बर भन्दा बढी रकम लाग्ने भएपछि सो योजना अलपत्र परेको थियो । पछि रामजीप्रसाद बराल प्रदेशको अर्थमन्त्री भएका बेला यो सडक निर्माण योजनाले गति पाएको थियो ।

सडक निर्माण सम्पन्न भएमा धम्पुस र आसपासका करीब १० वटा गाउ तथा टोल लाभान्वित हुने स्थानिय समाजसेवी डिल्लीराम भण्डारीले जानकारी दिए । धम्पुस पर्यटकीय गाउँमात्र नभएर विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार पनि हो । गुरुङ वस्ती र गुरुङ संस्कृति रहेको यस गाउँबाट प्राकृतिक छटासँगै अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ«ेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।