साउन १८
तनहुँका राजनीतिक नेता तथा सामाजिक अभियन्ता स्व.तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ स्मृति ग्रन्थ लोकार्पण भएको छ । तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्व.भट्टराईको स्मृति ग्रन्थ ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’को पूर्व राष्ट्रपति रामवरण यादवले लोकार्पण गरेका हुन् । स्मृति ग्रन्थमा स्व.भट्टराईसँग सम्बन्धित घटना र विषयमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले लेखेका लेख समावेश छन् ।
१९८९ चैत्र १ गते जन्मेर २०६१ साल असार २१ गते दिवंगत भएका स्व.भट्टराई नेपाली कांग्रेसका सरल र सादगी नेताका रुपमा परिचित थिए । ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ भन्ने राजनीतिक दर्शन अनुकरण गरेका उनले जीवनभर प्रजातन्त्रमार्फत नागरिक स्वतन्त्रता र सरल जीवनयापनका लागि राजनीतिक तथा सामाजिक अभियान र कार्यक्रम सञ्चालन गरे ।
स्व.भट्टराईको योगदान २००७ सालदेखि राजनीतिक नेतृत्वमा महत्वपूर्ण भूमिका थियो । शासन व्यवस्था परिवर्तनका सबै आन्दोलनमा नेतृत्व गरेका स्व.भट्टराईले पञ्चायत कालमा पदीय दायित्व ग्रहण गर्दै प्रजातन्त्र र नागरिक स्वतन्त्रताका पक्षमा काम गरेका थिए । नेपाली कांग्रेसले सञ्चालन गरेको भद्र अवज्ञा आन्दोलनलगायत अभियानको नेतृत्वमा रहेर काम गरे उनले ।
२०१५ सालमा तत्कालीन राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका लागि पैदल भ्रमण गएका बेला सदरमुकाम बन्दीपुरमा रहेको सदरमुकाम दमौली वा खैरेनीटारमा सुझाएका थिए । सदरमुकाम आउजाउमा ढोर, रिसिङ्ग, घिरिङ्गलगायत पश्चिम तनहूँका जनतालाई ३/४ दिन हिड्नुपर्ने भन्दै उनले सो सुझाव दिएका हुन् ।
२०१५ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व.भट्टराईले पटकपटक जेल जीवन विताउनु परेको थियो । वि.स.२०१८ मा तत्कालीन राईपुर गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित उनी २०२० सालमा तनहुँ जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भए ।
स्व.भट्टराईकै अगुवाईमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्ने, दमौलीमा सदरमुकाम सार्ने क्रममा सहादत प्राप्त गरेका निर्मल रानाभाटको स्मृतिमा दमौलीमा निर्मल माध्यमिक विद्यालय स्थापना, दमौलीमा एकीकृत र योजनाबद्ध बस्ती निर्माणमा उनको नेतृत्वदायी भूमिका थियो ।
जिल्ला पञ्चायत तनहुँका सभापति भएको समयमा उनले तत्कालीन राजा महेन्द्रबाट संविधान सुधार गर्न सुझाव माग गर्दा प्रजातन्त्रको बहाली, बालिग मताधिकार, मानव अधिकारलगायत जनताका पक्षमा संविधान बनाउनुपर्छ भन्ने प्रस्ताव पारित गराएका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनपछि भएको जनमत सङ्ग्रहमा उनको नेतृत्वमा प्रजातन्त्रबादी पञ्चहरुले सामुहिक राजीनामा दिएर बहुदलको पक्षमा खुल्ला प्रचार गरेका थिए ।
स्मृति ग्रन्थको लोकार्पण गर्दै पूर्वराष्ट्रपती डा.रामवरण यादवले स्व.भट्टराईकोजस्तो राजनीतिक आदर्श अहिलेको अपरिहार्य आवश्यक्ता भएको बताए । उनले युवा पुस्तामा निष्ठा र आदर्शको राजनीति सिकाउन अग्रजहरुको योगदान अभिलेखन र पुस्तान्तरण गरिनुपर्नेमा जोड दिए । उनले भने,‘‘संसारले अभ्यास गरेको उन्नत लोकतान्त्रिक अभ्यास देशले उपयोग गरिरहेको छ । यसमा केही राम्रा र केहि विकृति दुबै देखिएका छन् । तर अहिले राम्रा काम र प्राप्त उपलब्धिका विषयमा कुरा नै हुँदैन । खाली नराम्रा कुरा मात्र गरिन्छन् । यसकारण राम्रा कुराको प्रवर्धन गर्दै विकृतिलाई सच्याउँदै जानु पर्ने आवश्यकतालाई अग्रजले देखाएको निष्ठालाई सिकाइ बनाउन सकिन्छ ।’ स्व.भट्टराईले आफ्नो स्वार्थका लागि नभई जनतालाई दिनका लागि गरेको योगदान, पुस्तान्तरणका लागि उपयुक्त सिकाइ भएको उनको भनाई थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय सभा सदस्य पदम परियार, गण्डकी प्रदेश सभा सदस्यहरु अशोक श्रेष्ठ र जितप्रकाश आले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शुक्ला गण्डकी नगरका प्रमुख कृष्णराज पण्डितसहितका वक्ताहरुले जनताको माझमा बसेर प्रजातन्त्र प्राप्त गर्ने अभियानका कुशल पथ प्रदर्शक स्व.भट्टराई भएको बताए ।
यस्तै पूर्वमन्त्रीहरु अर्जुननरसिंह के. सी., शंकर भण्डारी, डा. रामचन्द्र अधिकारी, नरहरी आचार्य, संविधान सभा सदस्य रामेश्वर पाखरेललगायतले तनहुँलाई आधुनिक विकासको पथमा लैजान भट्टराईको योजना आधार भएको उल्लेख गरे । राजनीतिमा निष्ठा र आदर्शको प्रवद्र्दनका लागि तारापतिजस्ता अगुवाका बारेमा स्थानीय सरकारले जनताको इतिहासका रुपमा अभिलेखन गर्नु पर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा स्व.भट्टराईका समकालीनहरु गोपीबहादुर गुरुङ्सहितका वक्ताहरुले भट्टराईको राजनीतिक, सामाजिक र आध्यात्मिक जीवनका बारेमा चर्चा गरे । यसरी बोल्ने वक्ताहरुले तनहुँ जिल्लाको सदरमुकाम बन्दीपुरबाट दमौलीमा सार्नका लागि गरेको योगदान, जिल्लामा सडक, ढल निकास र खानेपानीको सुविधाका लागि पूर्वाधार निर्माण गर्न, शैक्षिक सुधार गर्न तथा पञ्चायत शासनमा बसेर लोकतान्त्रिक अभियान सञ्चालन गर्नका लागि स्व.भट्टराईको योगदान महत्वपूर्ण रहेको चर्चा गरे ।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले विभेदरहित समाजको कल्पनामा तारापतिले देखाएको बाटो बर्तमान राजनीतिक अवस्था सुधारका लागि सान्दर्भिक भएको धारणा राखे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






