जोशी समाज कास्कीको अध्यक्षमा बिश्वहरी जोशी चयन


     एभरेस्ट आवाज    
     श्रावण २१ गते २०८२ मा प्रकाशित




पोखरा । जोशी समाज कास्कीको वार्षिक साधारण सभा तथा चौथो अधिवेशन अध्यक्ष श्रवणलाल जोशीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको प्रमुख आतिथि नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

प्रमुख अतिथि पालिखेले जोशी समाज नेवार समुदायभित्रको एक महत्वपूर्ण समाज भएको उल्लेख गर्नुभयो। उहाँले पोखरामा बसाइ सर्ने क्रममा भक्तपुरबाट आएका छब्बीस नेवार कुरियामध्ये जोशी समुदाय पनि एक थरी भएको बताउँदै, जोशी समाजले नेवारी संस्कार र संस्कृति जोगाउने कार्यमा निरन्तर योगदान दिंदै आएको चर्चा गर्नुभयो।हालको समयमा संस्कृतिको नाममा विदेशी नक्कलले सामाजिक विकृति मौलाउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै, विशेषतः महिला दिदीबहिनीहरू बढी सचेत रहनुपर्ने आवश्यकता औंल्याउनु भयो। वैज्ञानिक दृष्टिकोणले उपयुक्त र परम्परागत संस्कारको जगेर्ना गर्नुपर्ने कुरामा समेत उहाँले जोड दिनुभयो। साथै, नेवा खलः कास्कीले जोशी समाजलाई पदेन संस्थागत सदस्यको रूपमा मान्यता दिएको जानकारी पनि उहाँले दिनुभयो।

खल:का उपाध्यक्ष प्रमिला जोशीले स्वागत मन्तव्य गर्नु भएको समारोहमा समाजका पूर्व अध्यक्षद्वय मोहनमान जोशी र काजिमान जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारण सभाको दोस्रो सत्रमा जोशी समाजका अध्यक्ष श्रवणलाल जोशीबाट अध्यक्षीय प्रतिवेदन, सचिव बखतमान जोशीबाट सचिवीय प्रतिवेदन तथा कोषाध्यक्ष सबिना जोशीबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनहरू प्रस्तुत पश्चात तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको थियो।

नयाँ कार्यसमितिमा विश्वहरि जोशी अध्यक्ष चयन हुनु भएको छ। प्रमिला जोशी प्रथम उपाध्यक्ष, बद्रि कुमार जोशी द्वितीय उपाध्यक्ष, बखतमान जोशी सचिव, रचना जोशी सहसचिव, सबिना जोशी कोषाध्यक्ष तथा कमला जोशी सह–कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। यस्तै गरी सदस्यहरूमा नन्द कुमार जोशी, राजेन्द्र जोशी, समित जोशी, मिरोज नारायण जोशी र प्रभारत्न जोशी चयन हुनुभएको छ भने एक जना सदस्य पछि मनोनयन गरिने निर्णय भएको छ।

कार्यक्रमको सञ्चालन सचिब बखतमान जोशीले गर्नुभएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।