सन्देश श्रेष्ठ
पोखरा, साउन २२
होटल संघ नेपाल, गण्डकीले एकै दिनमा तराईदेखि हिमालसम्मको यात्रा नगर्न÷नगराउन अपिल गरेको छ । संघले आज एक अपिल जारी गर्दै होंचो भुभाग क्षेत्र तराईबाट एकै दिनमा अत्यधिक उचाई रहेका हिमालसम्मको यात्रा नगर्न÷नगराउन अपिल गरेको हो ।
संघका गण्डकी अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘होंचो भुभाग तराई र सिमावर्ती क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण हिमाल क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेकाले अबदेखि त्यस्तो यात्रा नगर्न÷नगराउन अपिल गर्दछौं ।’ बरु पर्यटकलाई आराम गर्दै वातानुकूलहुँदै यात्रा गर्ने वातावरण निर्माण गर्न सम्बन्धित ट्राभल एजेन्सी, टुर अपरेटर र सरोकारवालाहरुलाई संघले आग्रह गरेको छ ।

संघले पछिल्लो समय पर्यटनको राजधानी पोखराहुँदै तराई वा सिमावर्ती क्षेत्रबाट आएका पर्यटकहरु छोटो समय (एकै दिनमा) मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुगेर फर्किने गरेको पाइएको जनाएको छ । जसले पर्यटकको सुरक्षामाथि खतरा उत्पन्न हुने संघको ठहर छ । होंचो भुभागबाट छोटो समयमा एकैपटक हिमाली क्षेत्रमा पुग्दा लेक लाग्ने खतरा हुन्छ । सोहि विषयलाई उठान गर्दै संघले मानव स्वास्थ्य र सुरक्षाको पाटो महत्वपूर्ण विषय भएकाले यस पक्षलाई ध्यानमा राखेर यात्रा गर्न÷गराउन आग्रह गरेको छ ।
होटल संघ गण्डकी पर्यटकलाई होंचो भुभागबाट एकैदिनमा हतारहतार हिमाली क्षेत्रमा लैजानेजस्तो लापरवाहीलाई प्रोत्साहन गरिनु हुन्न भन्ने पक्षमा रहेको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ,‘समुन्द्र सतहबाट एक सय मिटर हाराहारीको उचाई रहेको तराई क्षेत्रबाट आठ सय मिटर उचाईको पोखरा उक्लिएर उही दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नकारात्मक कुरा हो । होचो उचाईबाट एकै दिन एकतर्फी साडे तीन सय किलोमिटर भन्दा लामो अनि उचाईतिरको यात्रा पर्यटकका लागि अत्यन्त खतरनाक धपेडीपूर्ण मात्र नभई बर्खा यामको रात्री कुँदाई अन्यन्त जोखिमयुक्त पनि हुन सक्ने भयो ।’
संघले एकैपटक तराईबाट हिमाली यात्रा गराउँदा पर्यटकलाई लेक लागेर ज्यानै जान सक्ने खतरा हुने र अर्कोतर्फ पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने खतरा हुनेतर्फ पर्यटन व्यवसायसँग सम्बन्धित सबैलाई सचेत गराएको छ ।
संघका अनुसार गत आर्थिक वर्षमा मात्र अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा जाँदा १८ पर्यटकको लेक लागेर मृत्यू भएको थियो । मृत्यु हुनेमा ६ नेपालीसहित ८ भारतीय रहेका थिए । भने अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक÷एक जना नागरिकको मृत्यू भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)लाई उद्दृत गर्दै संघले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







