श्रीकृष्ण जन्माष्टमीको दिन बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     श्रावण २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन २३

श्रीकृष्ण जन्माष्टमीको दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१ ग्ते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि साउन २७ गते अपराह्न ५ बजेसम्म भजन समूहको नाम दर्ता गराउन पाईने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । भजन समुह दर्ताका लागि ३ हजार शुल्क तोकिएको उनले बताईन् ।

‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष गौतमले बताईन् । प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको थियो । तर यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन पाईने बनाइएको उनले बताईन् ।

प्रतिष्डानले राष्ट्रिय भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरु पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरुको जीवन वृत्तान्त ‘समकालिन स्रष्टा र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम पनि गर्दै आएको छ ।’

प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।

प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

प्रतिष्ठानले स्थापनाकालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदनचन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले साहित्य विकासमा पुस्ता हस्तान्तरणलाई ध्यानमा राखेर कविता, निबन्ध, लोककथा आदि साहित्यका विधाहरुमा सिर्जनशील प्रतियोगिताहरु राख्दै नवोदित प्रतिभाहरुको खोज्ने र साहित्यमा अभिरुची जगाउने कार्य गर्नुका साथै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धनमा जोड दिदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।