सन्देश श्रेष्ठ
पोखरा, साउन २३
पाल्पाको ऐतिहासिक लाखे नाच यस वर्ष पनि पोखरामा देखाइने भएको छ । सिटिजन फर्निचर न्यूरोड, पोखराको आयोजनामा यहि साउन २६ गते सोमबार पोखरामा पाल्पाको ऐतिहासिक लाखे नाच प्रदर्शन हुन लागेको हो ।

नाच पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरको अगाडि सडकमै सोमबार साँझ ६ बजेदेखि १० बजेसम्म प्रदर्शन गरिने सिटीजन फर्निचरका संचालक दीपक कार्कीले जानकारी दिए । त्यसका लागि पाल्पा रिब्दीकोटस्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८२ को टोली कलाकार, बाजागाजासहित पोखरा आउने छ । युवा व्यवसायी कार्की भैरवस्थानका स्थायी बासिन्दा हुन् भने उनी एभरेस्ट मिडिया हाउस प्रालिका सञ्चालक समिति सदस्य पनि हुन् । उनकै पहलमा विगत ३ वर्षदेखि सिटिजन फर्निचरको आँगनमा भैरव नाच देखाईंदै आईएको छ ।
आफ्नो गाउँठाउँको संस्कृति संरक्षण गर्ने तथा पोखरा र पाल्पाबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले पोखरामा यस वर्ष पनि नाच ल्याउन लागिएको उनले बताए । नाच हेर्न र आएका सबै पाहुनालाई भैरवस्थानको रोट, टिका, प्रसादका साथै पाल्पाली परम्परागत परिकार वटुक र चुकाउनीले स्वागत गरिने उनले जानकारी दिए ।
पोखरा झैं पाल्पामा नेवार समुदायको वस्ती बाक्लो छ । त्यहाँ यो नाचको ऐतिहासिक महत्व छ । पाल्पाली राजा मणिमुकुन्द सेन राजा भएको बेला आफ्नो राज्य बिस्तार क्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिसँग अति प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन ल्याएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आए । ५ सय वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पामा नचाइने लाखे नाचमा बाजाको ताल, नाच्ने कला अन्य ठाउँको भन्दा भिन्न छ । भीमसेन गुठी भैरवस्थानले यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत सहर पुगेर नाच देखाइसकिएको छ ।
पोखरामा नाच देखाउन पाल्पाली समाज पोखरा, पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारीका संस्था लि., पाल्पा कोलोनी लगायतले पनि सहकार्य गरेका छन् ।
लाखे नाच खासगरी नेवार समुदायमा पर्ने अनिष्ट निवारणको मुख्य आधार मानिँदै आएको छ । श्रावण घण्टाकर्ण चतुदर्शी अर्थात् गठेमंगलदेखि विशेष पूजा आराधनाका साथ सुरु हुने यो नाच श्रीकृष्ण जन्माष्टमीसम्म देखाउने प्रचलन छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







