पोखरा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित श्री भीमसेन गुठी भैरवस्थान, हटियाद्वारा आयोजित ऐतिहासिक लाखे नाच यस वर्ष पनि पोखरामा प्रदर्शन हुने भएको छ। सांस्कृतिक आदानप्रदान र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित साउन २६ गते (सोमबार) साँझ ७ बजे पोखरा–९, न्यूरोडस्थित सिटिजन फर्निचर र पाल्पा हाउसबीचको मूल सडकमा प्रदर्शन गरिने आयोजकले जनाएका छन्।
पाल्पाली समाज पोखरा र सिटिजन फर्निचर न्यूरोडको सहकार्यमा आयोजना हुने यस कार्यक्रमलाई भव्य बनाउन विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ । कार्यक्रम स्थलमै भैरवस्थानको रोट, टिका प्रसाद साथै पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीद्वारा पाहुनाको स्वागत गरिने आयोजक सिटिजन फर्निचरका दिपक कार्कीले जानकारी दिएका छन्।
पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले करिब ५०० वर्षअघि काठमाडौं आक्रमण गर्दा त्यहाँको मच्छिन्द्रनाथको पटाङ्गीनीमा रहेको भैरव मूर्तिसहित केही नेवार समुदायलाई पाल्पा ल्याई स्थापना गरेपछि यस परम्पराको सुरुवात भएको जनविश्वास रहिआएको छ। श्री भैरवस्थान गुठीले त्यसबेलादेखि सुरु भएको परम्परालाई आजसम्म पनि निरन्तरता दिँदै आएको छ।
यो नाच काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङ लगायत देशका प्रमुख सहरहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको छ। पाल्पाली संस्कृति, परम्परा र ऐतिहासिक चाडपर्वहरूलाई जगेर्ना गर्ने यस प्रयासले पोखरामा पनि उत्साहजनक सहभागिता र सराहना पाउने आयोजकले अपेक्षा गरेको छ।
कार्यक्रमका संयोजक सिटिजन फर्निचरका प्रोपाइटर दीपक कार्कीले पोखरावासीलाई यस सांस्कृतिक सम्पदामा सहभागी भई लाखे नाचको शोभा बढाउन हार्दिक आमन्त्रण गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







