प्रतिभाका विद्यार्थीले दिए विविधतामा एकताको सन्देश दिने प्रस्तुती


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०८२ मा प्रकाशित




पोखरा, साउन २८

पोखरा–३ नदीपुरस्थित प्रतिभा माविका बालबालिकाहरुले विविधतामा एकताको सन्देश दिएका छन् । विद्यालयमा सिपीआरएस अन्तर्गतको ‘आवर कम्युनिटी थिम सेलेव्रेसन’ कार्यक्रममा कक्षा एकका विद्यार्थीले नेपालमा रहेको भौगोलिक, जातीय, सांस्कृतिक, तथा भेषभुषामा रहेको विविधता र त्यस भित्र रहेको एकताको सन्देशलाई प्रस्तुतीमार्फत देखाएका हुन् । र्याम्प वाक गर्दै आ–आफ्नो परिचय दिएर शुरु भएको कार्यक्रममा बालबालिकाले हिमाल, पहाड र तराईको भौगोलिक विविधता, त्यसमा संस्कार, चाडपर्व, रीतिरिवाज तथा धर्म–संस्कृति झल्किने पोशाक, पेशा–व्यवसाय जनाउने गतिविधि र भावनात्मक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बालबालिकाहरुले टोल भेला, हाट बजार र मोवाईल फोन विषयक नाटक, नेत्र चिकित्सक सन्दुक रूइतको प्रेरणादायी जीवनी, कविता वाचन, विद्यालयमा अध्ययन दिनहरूको तुलना प्रस्तुति र नृत्य लगायतका प्रस्तुतिहरु राखेका थिए । सहभागी बालबालिकाहरुले चाखपूर्वक प्रस्तुती अवलोकन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक किरण सापकोटाले सिपीआरएस पद्दती अन्तर्गत शैक्षिक गतिविधिहरु सञ्चालन गरिदै आएको बताए । उनले भने,‘जग बलियो भए मात्र घर बलियो हुन्छ’ भन्ने मूल सन्देशसहित यस्ता सिर्जनात्मक गतिविधिहरु गर्दै आएका छौं ।’ सो अवसरमा सापकोटाले लर्निङ वाई डुईङलाई आत्मसात गर्दै विद्यालयमा गरिने क्रियाकलापले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान दिने बताए । उनले भने‘कार्यक्रमले संस्कृति, पेशा र परम्पराप्रतिको जानकारी मात्र होइन, विविधतामा एकताको पाठ पनि सिकाएको छ ।’

विद्यालयकी मन्टेश्वरी व्लक कोअर्डिनेटर निर्मला सुवेदीले विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीको चौतर्फी विकास लक्षित कार्यक्रम गर्दै आएको बताईन् । भनिन्,‘आजको कार्यक्रम यसैको निरन्तरता हो, यसले कक्षा कोठाभित्र भएको पठनपाठनलाई व्यवहारिक ज्ञानसँग जोड्न सघाएको छ ।’ उनका अनुसार कविता, पात्रले गर्ने भूमिका र अन्य गतिविधिबाट बालकेन्द्रीत शिक्षणलाई मनोरञ्जनात्मक ढंगले अगाडि बढाइएको छ ।

कार्यक्रममा शिक्षिकाहरु सुस्मिता श्रेष्ठ, जमुना गिरी, कमला शर्मा, मिना रानाभाट, होलशोभा गुरुङ, पवित्रा पुन लगायतले कार्यक्रम सञ्चालनसँगै बालबालिकालाई सहजीकरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।