बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन प्रतियोगितामा विभिन्न भजन समूहको प्रस्तुती दिने क्रम जारी


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन ३१

पोखराको बाटुलेचौरमा आज राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिता जारी छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला भइरहेको हो । प्रतियोगिताको गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए ।

पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा भइरहेको प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । जसमा आधा भन्दा बढीले प्रतियोगी टिमले प्रस्तुती दिइसकेका छन् । बाँकी प्रतियोगी टिमले प्रस्तुती दिने क्रम जारी छ । प्रतियोगिता रातीसम्मै जारी रहनेछ भने बिजेताको घोषणा आज मध्यरातमा हुनेछ ।

भजन प्रतियोगितामा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जासहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका स–साना विद्यार्थी सहभागी भजन टोली सहभागी रहेको प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको थियो । तर यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन दिईएको छ ।

प्रतियोगितामा दर्शक सहभागीता बाक्लो मात्रामा छ । प्रतियोगिता स्थललाई रंगीचंगी बनाएर दुलहीझैं सिंगारिएको छ । कार्यक्रममा बाटुलेचौर क्षेत्रका आमा समुह, टोल विकास संस्था र विभिन्न जातिय तथा धार्मिक संस्था आ आफ्नो पहिचान झल्कने पोसाकमा सहभागी भएको प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए ।

यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले श्रीकृष्ण भजन प्रतियोगिताले सामाजिक सद्भाव कायम राख्दै कला, साहित्य र संस्कृतिमा टेवा पु¥याउने बताए । उनले प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने पनि प्रतिबद्दता जनाए ।

कार्यक्रममा बोल्दै शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले आफ्नो संस्थाले संस्कृति, कला र साहित्यमा योगदान दिइरहेको उल्लेख गरिन् । उनले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने वचनबद्दता व्यक्त गरिन् ।

संस्थाका मानार्थ सदस्य रामबहादुर बानियाले संस्थाले शुरुवाती कालदेखि नै साहित्य र संस्कृतिको क्षेत्रमा संस्थाले अतुलनीय योगदान दिदै आएको उल्लेख गरे ।

उद्घाटन कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ७५ हजार, तृतीय हुने समुहले ५० हजार, सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५÷५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने संस्थाका सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।