पोखरा, भाद्र १ ।
गैर सरकारी संस्था महासंघ नेपाल (गैसस) ले लोकतन्त्र स्थापनापछि पनि नागरिक संस्थाहरुले लोकतान्त्रिक वातावरणको अनुभव गर्न नसकेको गुनासो गर्दै नीति–नियम र वातावरण निर्माणमा राज्यको उदासीनता रहेको आरोप लगाएको छ।
महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संस्थागत अधिकार अझै सीमित रहेको उल्लेख गर्दै “संविधानले दिएको मौलिक हक कार्यान्वयन नभएकाले लोकतन्त्र सबल भएको महसुस हुन सकेको छैन” भने। उनले संस्थाहरु दर्ता प्रक्रियामा अनावश्यक झन्झट, नयाँ ऐन नबन्नु, धारा १७ घ अनुसार पालिका स्तरमा दर्ता भएपश्चात पनि राष्ट्रियस्तरमा काम गर्ने वातावरण नबनाइएकामा आपत्ति जनाए।
उनले विदेशी सहयोग लिनेदेखि व्यवस्थापनसम्ममा स्पष्ट नीति नहुँदा थुप्रै आईएनजिओ संस्था फर्किनु परेको बताए। युएस एड बन्द भएपछि को परिश्थितिमा “३५ हजार कर्मचारी रोजगारी र ४ सय संस्थाले परियोजना गुमाएका छन्” भट्टराईले भने, “लोकतन्त्र सबलीकरणका लागि संविधानलाई जनजीवनमा उतार्न आवश्यक छ।”
गैसस महासंघले सिंहदरबार गाउँगाउँमा लैजानुपर्ने भनेकोमा व्यवहारमा सिंहदरबारको प्रवृत्ति मात्रै गाउँमा पुगेको गुनासो पनि गर्यो। पेपरलेस डिजिटल प्रणालीतर्फ अघि बढ्दै आर्थिक न्याय र सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ।
अध्यक्ष भट्टराईले लोकतन्त्रको सबलीकरणका लागि संविधानले सुनिश्चित गरेका मौलिक हकलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले संविधानको पूर्ण अपनत्व लिन नसक्दा युवा तथा सर्वसाधारण निराश भएको उल्लेख गर्दै सांसदहरूको भूमिका प्रभावकारी हुन नसकेको र जनतासँग प्रत्यक्ष छलफलको अभ्यास नबढेकोप्रति चिन्ता व्यक्त गरे। भट्टराईले आर्थिक न्याय सुनिश्चित गर्न उद्यमशीलता प्रवर्द्धनमा जोड दिनुपर्ने र सामाजिक उद्यमशीलता विकासतर्फ अघि बढ्नुपर्ने धारणा राख्दै, साझेदारी नीति निर्माण गरेर गैर सरकारी संस्था महासंघले प्रदेश स्तरीय विकास सम्मेलनमार्फत स्पष्ट कार्यदिशा तय गर्ने बताए।
उनका अनुसार परिवर्तन र लोकतन्त्रलाई संस्थागत गर्ने प्रक्रियामा स्थानीय, प्रदेश र संघीय सरकारसँग गैर सरकारी संस्थाको सम्बन्ध अझै सुमधुर र प्रभावकारी बन्न नसकेको छ। यसलाई सहज र परिणाममुखी बनाउन आवश्यक पहल भइरहेको बताउँदै उनले सीएसआरलाई पारदर्शी बनाउनुपर्ने र सामाजिक उद्यमशीलतालाई ११ आधारमा विकास गर्नुपर्नेमा जोड दिए। “नाफालाई सामाजिक कार्यमा लगाउनुपर्छ तर आजसम्म संस्थागत नीति बनेको छैन,” उनले भने। भट्टराईले मित्र राष्ट्रसॅंग सशर्त ऋण लिन नहुने तर अनुदान माग्नुपर्ने, यसका लागि सरकारले पहल गरेर गैरसरकारी संस्थालाई अनुकूल वातावरण बनाउनुपर्ने बताए।
यसैबीच, गण्डकी प्रदेश समितिले पोखरामा प्रेस विज्ञप्ति जारी गर्दै हाल प्रदेशमा स्रोतको अभाव, बेरोजगारी, युवापलायन, उद्यमशीलताको कमजोरी र कृषिको अवमूल्यन जस्ता समस्या प्रमुख चुनौती बनेको निष्कर्ष निकालेको छ। समितिले दलित, महिला, बालबालिका, जनजाति लगायतका समुदाय प्रभावित भएको जनाउँदै संघीयताको कार्यान्वयन र नागरिक अधिकार सुनिश्चिततामा कमजोरी देखिएको जनाएको छ।
गैसस महासंघ गण्डकी प्रदेशका इन्चार्ज गोपाल खड्काले आगामी दिनमा “गण्डकी विकास सम्मेलन” आयोजना गरी विगतका उपलब्धि र चुनौतीको मूल्याङ्कन गर्दै आगामी कार्यदिशा तय गर्ने जानकारी दिए। उनले असमानता निवारण, सामाजिक समावेशीकरण, कृषिको व्यावसायिकीकरण, लैङ्गिक समानता, युवापलायन न्यूनीकरण तथा उद्यमशीलता प्रवर्द्धनका सवालमा नागरिक समाज, दातृ निकाय, निजी क्षेत्र र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए।
समितिले साझेदारी नीतिलाई पूर्णता दिन, जलवायु न्याय तथा विपद व्यवस्थापनमा क्षमता विकास गर्न र असमानताविरुद्धका अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरुलाई सहकार्यका लागि आह्वान गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







