नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको प्रशिक्षणसहित तीज विशेष कार्यक्रम सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८२ मा प्रकाशित




नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीको प्रशिक्षणसहित तीज विशेष कार्यक्रम सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्की महिला विभागको आयोजनामा कस्केली शिक्षकका लागि प्रशिक्षण, अन्तरक्रिया तथा तीज विशेष कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि माननीय गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले तीज केवल नृत्य र गीतमै सीमित नभई महिला सशक्तीकरणको सन्देश फैलाउने माध्यम हुनुपर्ने बताउनुभयो। उहाँले शिक्षकहरू समाज परिवर्तनका अगुवा भएको र शिक्षक महिलाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षकहरु फेरि पनि आन्दोलनमा होमिने खबरहरु आइरहँदा समाजमा शिक्षकप्रति गलत धारणाको विकास हुने भएकाले टेबल टल्कमा बसेर समस्या समाधान गरि असल संस्कार विकास गर्न राज्य र शिक्षक दुबै गम्भीर हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले तीज पर्वलाई महिला अधिकार, समानता र सामाजिक जागरणसँग जोडेर अर्थपूर्ण ढंगले मनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका उपाध्यक्ष रामप्रसाद पोख्रेल, नेराशिसं राष्ट्रिय समिति सदस्य सकुन्तला आचार्य, नेराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, नेराशिसं कास्की अध्यक्ष तिर्थराज ढकाल, जिल्ला समन्वय कास्की उपप्रमुख सरिता पाललगायतले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमकी अध्यक्ष देवी केसीले महिला विभागको सक्रियता र शिक्षक महिलाहरूको निरन्तर संघर्षले संगठनलाई थप सबल बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले महिला विभागका विभिन्न कार्यक्रमहरूले महिला सदस्यहरूको क्षमता अभिवृद्धि र आत्मविश्वास वृद्धिमा सहयोग पुर्‍याउने बताउनुभयो।

कार्यक्रममा विभिन्न विद्यालयका महिला शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले तीजसँग सम्बन्धित सांस्कृतिक प्रस्तुति, गीत तथा नृत्यमार्फत वातावरणलाई उल्लासपूर्ण बनाएका थिए। साथै, अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले शिक्षामा लैंगिक समानता, विद्यालयमा महिला शिक्षकहरूको भूमिका, र संघ–संगठनको सक्रिय सहभागिताबारे विचार विमर्श गरेका थिए।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीले महिलामुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति कास्कीकी उपाध्यक्ष देवी केसी ले गर्नुभएको थियो। त्यस्तै सञ्चालन सहसचिव जुना थापा र स्वागत मन्तव्य सहकोषाध्यक्ष शान्ता पराजुलीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।