पोखरामा ४१ जेहेन्दार विद्यार्थीलाई नेलम्बो नेपालद्वारा पूर्ण छात्रवृत्ति प्रदान


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८२ मा प्रकाशित




पोखरा । आर्थिक अभावले पढाइ छोड्ने मोडमा पुगेका विद्यार्थीलाई आशाको नयाँ बाटो खुलेको छ। विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल (नेलम्बो नेपाल) ले आइतबार पोखरामा आयोजित विशेष समारोहमा ४१ जना जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत यी विद्यार्थीमध्ये कसैले १८ हजार ५ सय रुपैयाँ बराबरको सहयोग पाए भने कसैले सवा लाखसम्मको छात्रवृत्ति पाए। संस्थाले विगत चार वर्षदेखि निरन्तर यसरी छात्रवृत्ति वितरण गर्दै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले “समाजका सबै समस्याको समाधान सरकारले मात्र गर्न सक्दैन। यस्तो कठिन घडीमा नेलम्बो नेपाल जस्ता संस्थाले गरेका काम निकै प्रेरणादायी छन्।” भन्नुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले छात्रवृत्ति पाउनु ठूलो अवसर भएको भन्दै आफ्नो जीवनको लक्ष्य (सपना) लाई पुरा गर्न अझ बढि मेहनत गर्न विद्यार्थीलाई प्रेरणा दिनु भयो । त्यस्तै, पत्रकार असफल गौतमले छात्रवृत्तिले विद्यार्थीलाई “बाँच्ने मात्र होइन, जीवनलाई सही ढंगले जिउने कला सिकाउने” बताउनु भयो ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले शिक्षा नै संस्थाको प्रमुख प्राथमिकता भएको भन्दै, “विद्यार्थीको रुचिअनुसारको अध्ययनलाई पूर्ण छात्रवृत्तिबाट सहयोग गर्न पाउनु हाम्रो खुसी हो” भन्नुभयो ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले आफ्ना सपना अझै ठूलो बनाउन आत्मविश्वासका साथ मन्तव्य राखे। अन्नपूर्णको माछापुच्छ्रे माविकी मञ्जु श्रीपालीले, “नेलम्बो नेपालकै कारण म उच्च शिक्षाको बाटोमा अघि बढ्न पाएकी छु।” भन्नुभयो । त्यस्तै, हरि गिरीले छात्रवृत्तिलाई आफ्नो भविष्यको प्रेरणाको स्रोत भएको बताउनु भएको थियो ।

संस्थाले कास्की, लमजुङ, स्याङ्जा र म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। साथै, केही विद्यालयमा आफ्नै स्रोतबाट शिक्षकसमेत व्यवस्था गरेर गुणस्तरीय शिक्षामा योगदान दिइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।