प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८२ मा प्रकाशित




लेखनाथ उसु क्वान र भद्रकाली उसु क्वानको संयुक्त आयोजनामा कास्की जिल्लामा उसु खेलको प्रबर्द्धन गर्न यही भदौ ६ र ७ गते प्रथम कास्की जिल्ला अन्तर विद्यालय उसु प्रतियोगिता सम्पन्न गरिएको छ । पोखरा रङ्गशालामा भएको उक्त प्रतियोगितामा विद्यालय स्तरमा प्रशिक्षण लिइरहेका २२ ओटा विद्यालयका खेलाडीहरूको सहभागिता थियो । प्रतियोगितामा ताओलु र सांस्यौं विधामा कुल १६० खेलाडीहरूले २४ स्वर्ण, २४ रजत र ४८ काश्य पदक गरी कुल ९६ ओटा पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा समग्र पदकका हिसाबले बाल मन्दिर मा.वि. नदीपुरले प्रथम स्थान, मैत्रेय पाठशालाले द्वितीय र रतनपाण्डे मा.वि. आर्वाले तृतीय स्थान प्राप्त गर्न सफल भई टिम च्याम्पियन ट्रफि, मोडल, प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे । कार्यक्रमको उद्‌घाटन सत्रको प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले पहिलो पटक यस प्रकारको प्रतियोगिता आयोजना गरी उत्कृष्ट कार्यको थालनी गरेकोमा आयोजकलाई धन्यवाद सहित बधाई ज्ञापन गरेका थिए । त्यसैगरी समापन कार्यक्रममा प्रमाणपत्र वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल उसु महासङ्घका बरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला उसु संघका अध्यक्ष विक्रम लामाले प्रतियोगी सबै खेलाडीलाई धन्यवाद दिँदै उत्कृष्ट खेलाडीहरूलाई बधाई ज्ञापन गरेका थिए । सोही अवसरमा उसु खेलका अन्तराष्ट्रिय निर्णायक रतन खाती, १३औं सागमा स्वर्ण पदक विजेता खेलाडी जुनी राई, कास्की जिल्ला उसु संघका अध्यक्ष विक्रम राई, पूर्व अन्तराष्ट्रिय खेलाडी अनिल परियार र राष्ट्रिय खेलाडी धन बहादुर तामाङलाई उसु खेलको विकासमा पु¥याएको विशेष योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो । साथै कार्यक्रमको प्रायोजन गर्ने सहयोगहीरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । दुईओटा उसु क्वानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको संयोजन तथा अध्यक्षता लक्ष्मण तामाङ र व्यवस्थापन कास्की जिल्ला उसु संघका सचिव दिलीप लामाले गरेका थिए ।कार्यक्रमको सञ्चालन भने डबिङ गुरुङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।