ऐतिहासिक बाटुलेचौर तीज मेला सम्पन्न,परम्परागत कला र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्द : मन्त्री थापा


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०८२ मा प्रकाशित




पोखरा

पोखराको बाटुलेचौरमा २ दिन सम्म चलेको ऐतिहासिक तीज मेला( २०८२ सम्पन्न भएको छ। तीज मेला व्यवस्थापन समितिले आयोजना गरेको मेलाको समापन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापाले परम्परागत कला, संस्कृतिको संरक्षण गर्ने कार्यमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले नेपाली कला, संस्कृति विश्वमा नै उत्कृष्ट रहेको बताउँदै, यसको जगेर्ना गर्ने कार्यमा सामाजिक संघ संस्थाको भुमिका महत्वपुर्ण हुने विश्वास व्यक्त गरे।

तीज मेला व्यवस्थापन समितिका संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा मन्त्री थापाले विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा प्रथम भएको सुर्योदय बोडिङ्ग स्कुल, द्वितीय भएको सरस्वती आदर्श विद्याश्रम द्वितीय, तृतीय भएको प्रगति स्कुल र सान्त्वना स्थान हासिल गरेको विन्ध्यवासिनी माविलाई क्रमशः नगद १५ हजार,१० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । त्यस्तै २५ वर्ष माथिका महिला दौडमा प्रथम हुने विष्णु खनाल, द्वितीय हुने सम्झना गुरुङ, तृतीय हुने सविना बास्तोलालाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरे ।दौडमा सहभागी ७५ वर्षिया दुर्गा केसी थापालाई विशेष प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो।
कार्यक्रममा मेलाको मुख्य आकर्षणको रुपमा रहेको समुहगत तीज गीत प्रस्तुतिमा त्यस वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए। उनीहरूलाई जनही १० हजार रुपैयाँ र सहभागीताको प्रमाणपत्र प्रदान गरिएको संयोजक राम बहादुर बानियाँले जानकारी दिए।
वडा कार्यालय, पोखरा(१६ संरक्षक रहेको सो मेलाको अन्तिम दिन मंगलबार ख्याति प्राप्त लोक दोहोरी गायक कृष्ण सुवेदीका साथै गणेश ढकाल र सन्ध्या बिसीले आफ्ना चर्चित तीजे भाका र लोक गीत प्रस्तुत गर्दा दर्शक छमछमी नाचेका थिए। सो अवसरमा मेला सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई मायाको चिनो प्रदान गरिएको प्रचार प्रसार संयोजक मोहन थापाले बताए। कार्यक्रममा स्वागत राम बहादुर बानियाँ र सञ्चालन समितिका सदस्य भीम गायकले गरेका थिए। मेलाको प्रवर्द्धन गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाले गरेका हुन्।

मेला हेर्न दुवै दिन पोखराका विभिन्न भागबाट दर्शकहरु बाटुलेचौरको ऐतिहासिक मैदानमा पुगेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।