पोखरामा भदौ १७ गतेदेखि दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता हुँदै


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १२

पोखरामा भदौ तेस्रो सातादेखि नेपाल खुल्ला स्नुकर प्रतियोगिता हुने भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालिको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा पोखरामा आगामी भदौ १७ गतेदेखि २८ गतेसम्म दोस्रो नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ हुन लागेको हो । प्रतियोगिता पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् बारान सञ्चालन हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतियोगितामा देशभरका १२८ जना खेलाडीले सहभागिता जनाउने आयोजकको विश्वास छ । प्रतियोगितामा नेपालका टप–१६ को र्याङ्किङमा पर्ने सबै खेलाडीले सहभागिता जनाउने आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालिका अध्यक्ष सोम विकले बताए । कास्कीका त सहभागि भईहाल्नु हुन्छ,उनले भने,‘कास्कीबाहेक काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, बुटवल, पूर्व झापाको विर्तामोड, धरान, ईटहरी, विराटनगरलगायतका ठाउँहरुबाट पनि आउनुहुन्छ ।’

पोखरा क्षेत्रको स्नूकर खेलको स्तर वृद्दि गर्दै पर्यटनको विकासमा सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष विकले बताए । स्नूकर खेलको विकास, बिस्तारसँगै खेलको स्तर वृद्दि गर्नु नै हाम्रो प्रमुख उद्देश्य हो,उनले भने,‘साथै पोखरालाई पर्यटन सहरको रुपमा विकास गर्ने, स्नूकर खेलको माध्यमबाट शान्ति सुरक्षा कायम गर्ने, खेलाडीमा सामुहिक भावनाको विकास गराउन पनि भूमिका यसले खेल्नेछ ।’ प्रतियोगिताले शान्ति सुरक्षा कायम गर्न पनि सघाउने उनले बताए ।

कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सागरकुमार साई (दीलिप)ले खेलाडीमा खेल भावना जागृत गराउन प्रतियोगिताले सघाउने विश्वास व्यक्त गरे । स्नूकर खेललाई हेर्ने प्रहरी प्रशासन र समाजको दृष्टिकोण अहिले बदलिएको उनले बताए । स्नूकर खेल शान्त, मर्यादित र अनुशासित खेल भएको बताउँदै उनले भने,‘स्नूकर खेललाई पहिले नराम्रो तरिकाले हेर्थे, तर अहिले यस खेललाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । यसलाई बल्ल खेलको रुपमा हेर्न थालिएको छ ।’ आफुहरुले स्नूकर खेल के हो ? कसरी खेलिन्छ र यसले समाजमा कस्तो योगदान दिन्छ भनेर बुझाएपछि यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनको दाबी छ ।

प्रतियोगिताले विलियार्ड स्नुकर खेल मानसिक, शारिरिक तन्दुरुस्तीसँगै सामाजिक विकासका लागि अपरिहार्य हो भन्ने स्थापित गर्न सघाउने संघका महासचिव सविन जिसीले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २ हजार २ सय २ रुपैयाँ र द्वितीय हुनेलाई नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सेमीफाईनल पुगेका दुई जनालाई जनही २५ हजार तथा प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २० हजार रुपैयाँ र सेञ्चुरी ब्रेकर्सलाई हरेक खेलमा ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष विकले बताए ।

प्रतियोगिता सम्पन्न गर्न करीब १२ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता संयोजक प्रताप गुरुङले जानकारी दिए ।

दोस्रो राष्ट्रिय खुल्ला स्नुकर प्रतियोगिता–२०७९ बारे जानकारी गराउँदै आयोजक । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।