पोखरेली प्रगतिशिल साहित्यकार विद्याविमलको ‘आगोजस्तै पहाड’ र ‘मरिसेला’ विमोचन


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ १२

पोखरेली प्रगतीशिल साहित्यकार विद्याविमल बरालको ‘आगोजस्तै पहाड’ र ‘मरिसेला’ विहीबार विमोचन भएको छ । वामपन्थी नेता टेकनाथ बराल (टि.एन. सर)को दोस्रो स्मृति दिवसको अवसरमा विहीबार उनका जेठा छोरा विद्याविमलले लेखेको ‘आगोजस्तै पहाड’ संस्मरण र ‘मरिसेला’ उपन्यासको विमोचन गरिएको हो । कार्यक्रममा बरिष्ठ प्रगतीशिल साहित्यकार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरुङलगायतले विमोचन गरेका थिए ।

टि.एन.बराल स्मृति अध्ययन केन्द्रले प्रकाशन गरेको यी दुई पुस्तकमध्ये ‘आगोजस्तै पहाड’ राजनीतिक संस्मरण र ‘मरिसेला’ उपन्यास स्वेर काल्पनिक रुपमा रचिएका छन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ प्रगतीशिल साहित्यकार तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विद्याविमलको पुस्तक गण्डकी प्रदेशको कम्युनिष्ट आन्दोलनको एक दस्तावेज भएको बताए । पुस्तकमा चर्चा गरिएका स्रष्टा स्वयम् विद्याविमलका बुबा टेकनाथ बराल (बा) आफैमा कम्युनिष्ट आन्दोलनका एक धरोहर भएको स्मरण गर्दै उनले भने,‘पुस्तकमा तत्कालीन कम्युनिष्ट आन्दोलनको फेहरिस्त छ ।’ उनले एकातर्फ संस्मरण र अर्कोतर्फ स्वेर कल्पनामा आधारित उपन्यास लेखेर विद्याविमलले आफू बहुप्रतिभाको धनी भएको पुष्ट्याईं गरेको बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज किरण गुरुङले पनि विद्याविमलको ‘आगोजस्तै पहाड’ संस्मरण तत्कालीन पश्चिमाञ्चल (गण्डक) क्षेत्रको संग्रहणीय दस्तावेज भएको बताए ।

कार्यक्रममा वाम बुद्दिजिवी रामराज रेग्मीले ‘आगोजस्तै पहाड’ पुस्तकको र सहप्राध्यापक तथा बुद्दिजिवी नरेन्द्र भण्डारीले ‘मरिसेला’ उपन्यासको समीक्षात्मक टिप्पणी गरेका थिए । समीक्षात्मक टिप्पणी गर्दै रेग्मीले विद्याविमलको ‘आगोजस्तै पहाड’ भुईंमान्छेहरुको दस्तावेज बनेर आएको बताए । पुस्तकमा ‘टेकनाथ बा’लाई रातो पहाडका रुपमा प्रतिविम्वित गरेर लेखिएको भन्दै उनले थपे,‘उहाँ कम्युनिष्ट आन्दोलन र सांस्कृतिक आन्दोलनको धरोहर नै । यसलाई पुस्तकले थप पुष्ट्याईं गर्न सघाउँछ ।’

अर्का समीक्षक नरेन्द्र भण्डारीले लेखक विद्याविमलले ‘मरिसेला’ उपन्यासमा एक क्रान्तिकारी युवतीमार्फत तत्कालीन पश्चिमी कम्युनिष्ट आन्दोलन र आप्रवासी जीवनको भोगाई भनेको बताए । पाश्चात्य डायस्पोरा लेख्ने पछिल्लो स्रस्टा विद्याविमल बनेको भन्दै उनले भने,‘उनको लेखकीय शैली सहज र सरल छ, भाषागत शैली सरल र अब्बल छ । अनि बौद्दिक पनि उत्तिकै ।’

कार्यक्रममा टेकनाथ बरालका ज्वाईं डा.भरत पहारीले पुस्तक अनुभूतिको प्रतिविम्व भएको बताए । भने,‘दुबै पुस्तकमा साहित्यिक विम्व उत्कृष्ट ढंगले बुनिएको छ, अनि विचारका हिसाबले दार्शनिक ।’

टेकनाथ बरालकी छोरी शोभा बरालले ‘टेकनाथ बा’ सबैको ‘बा’ बनेको स्मरण गरिन् । उनले भनिन्,‘त्यसैले उहाँ राजनीतिमा साझा मञ्चको रुपमा रहनु भयो ।’

टि.एन.बराल स्मृति अध्ययन केन्द्रका अध्यक्षसमेत रहेका स्रष्टा विद्याविमल बरालको अध्यक्षतामा भएको कार्यक्रममा नारायण मरासिनीले स्रष्टा परिचय गराएका थिए भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।