सन्देश श्रेष्ठ
पोखरा, भदौ १७
नेपाल खुल्ला स्नुकर प्रतियोगिता पोखरामा शुरु भएको छ । फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराको आयोजना तथा कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल संघको विशेष सहयोगमा आजदेखि पोखरामा नेपाल खुल्ला स्नुकर प्रतियोगिता–२०८२ को दोस्रो संस्करण शुरु भएको हो । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोर्टस् एण्ड बारमा भदौ २८ गतेसम्म हुने प्रतियोगिताको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा हटौंडाका जेनिस श्रेष्ठले पोखराका प्रताप गुरुङ, दावा शेर्पा (ब्रेक प्वाईन्ट)ले बिजय कुमाल (ब्रदर्श)लाई, आकाश श्रेष्ठ (ब्रेक प्वाईन्ट)ले बुटवलका ओरेओ थापालाई र कृष्ण पौडेल (ब्रेक प्वाईन्ट)ले मिलन खत्री (दीप लभ)लाई हराउँदै बिजयी यात्रा शुरु गरेको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालि पोखराका अध्यक्ष तथा कार्यक्रम संयोजक सोम विकले जानकारी दिए ।
प्रतियोगितामा देशभरका १३६ जना खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगिता खेल्न राजधानी काठमाडौंसहित पूर्वको झापास्थित विर्तामोड, सुनसरीको धरान, ईटहरी, मोरङको विराटनगरदेखि पश्चिमको बुटवल, नेपालगञ्जसम्मका खेलाडीहरुले सहभागिता जनाएको आयोजक फाइनल स्कोर स्पोर्टस् बार प्रालिका अध्यक्ष सोम विकले जानकारी दिए । प्रतियोगितामा नेपालका टप–१६ को र्याङ्किङमा पर्ने खेलाडीहरुले पनि सहभागिता जनाएका उनले दाबी गरे । उनले भने,‘नेपालका प्राय सबै सहरका खेलाडीहरुले सहभागिता जनाउनु भएको छ, र्याङ्किङमा पर्ने खेलाडीहरु हुनुहुन्छ ।’
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले स्नूकर खेल पर्यटनको एउटा कम्पोनेन्ट भएको बताए । खेल पर्यटनको माध्यमबाट समृद्दि हासिल गर्न सकिने भन्दै उनले भने,‘पोखरा पर्यटनको राजधानी हो । यस्तै प्रतियोगिताहरुले पर्यटनमा सघाउँछ ।’ उनले स्नूकर खेलमा धैर्यता आवश्यक हुने बताए । त्यसैले वास्तविक जीवनमा पनि यस खेलले अनुशासन र धैर्यता गर्न सिकाउने उनको दाबी छ । मेयर आचार्यले स्नूकर खेल सर्वाधिक रुचाइएको खेल भएको बताए । आयोजक र अन्य अतिथिले स्नूकर खेललाई खेल नमान्ने, हेप्ने गरेको भन्दै गुनासो गरेपछि उनले भने,‘यो हेपिएको खेल होईन, रुचाइएको खेल हो । आँधी, हुरी, बतास, वर्षा वा घाम लाग्दा पनि खेल्न सकिने खेल हो ।’

पोखरा–१७ की वडाध्यक्ष राधिका साही योगीले स्नूकर प्रतियोगिताले पोखरा भ्रमण वर्षलाई सघाउने बताईन् । स्नूकर खेल शारिरिक र मानसिक स्वस्थताका लागि महत्वपूर्ण भएको बताउँदै यसले अनुशासन पनि सिकाउने बताईन् ।
विलियार्ड स्नुकर तथा पुल संघ नेपालका अध्यक्ष सरोज मुल्मीले स्नूकर खेलको विकासमा संघ, प्रदेश र स्थानिय सरकारसँगै राष्ट्रिय खेलकुद परिषदलगायतले सघाउनुपर्ने बताए । उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्नूकर खेललाई समावेश गर्न आग्रह गरे । त्यसका लागि आफूहरुले दवाब दिइरहेको बताउँदै उनले भने,‘दशौं राष्ट्रिय खेलकुदमा स्नूकर खेल समावेश हुन्छ र गर्नुपर्छ ।’ उनले आफूहरुले पनि चाँडै नै अन्र्तराष्ट्रिय प्रतियोगिता गर्ने बताए । त्यसका लागि तयारी भइरहेको उनको भनाई थियो ।
पूर्व अन्र्तराष्ट्रिय खेलाडी तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले खेललाई सरकारी तहबाट सहयोग नभइरहेकोप्रति आक्रोस व्यक्त गरे । खेलकुदमा राजनीतिक चलखेल भइरहेको भन्दै त्यसको अन्त्य गरिनुपर्ने उनको भनाई थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख २ हजार २ सय २ रुपैयाँ र द्वितीय हुनेलाई नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सेमीफाईनल पुगेका दुई जनालाई जनही २५ हजार तथा प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई २० हजार रुपैयाँ र सेञ्चुरी ब्रेकर्सलाई हरेक खेलमा ७ हजार ५ सय रुपैयाँ प्रदान गरिने अध्यक्ष विकले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







