पोखरामा जेनजीको विशाल प्रदर्शन

- पोखरामा प्रधानमन्त्रीबिरुद्द जेनजीको नारा : केपी तेरो पाराले, दुःख पाए साराले


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २३

जेनजीले पोखरामा पनि प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा लागेको प्रतिबन्ध तथा भ्रष्टाचारबिरुद्द जेनजीले पोखरामा पनि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा हजारौं जेनजीहरु सहभागी छन् । काठमाडौंका जेनजीले माईतीघरमा प्रदर्शन गर्ने थाहा पाएपछि पोखरा पनि केहि जेनजी मिलेर बनाएको प्रदर्शनमा विशाल जेनजी सहभागी भए ।

पोखरा सभागृहमा स्वतःस्फूर्त उपस्थित भएका उनीहरुले नाराबाजी गर्दै प्रदर्शन शुरु गरेका थिए । बिस्तारै संख्या बढेपछि उनीहरु प्रदर्शन गर्दै नगर परिक्रमातर्फ लागे । सभागृहचोकबाट न्यूरोड, चिप्लेढुंगा, मानवअधिकार चोक, सिद्दार्थचोक, बगालेटोल, सिर्जनाचोक, सिमलचौरहुँदै राष्ट्रचोकमा पुगेर प्रदर्शन गरिरहेका छन् ।

जेनजीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्द नाराबाजी गरेका छन् । उनीहरुले ‘केपी तेरो पाराले ! दुःख पाए साराले’, ‘केपी चोर, देश छोड’, ‘भ्रष्टाचारी सरकार चाहिंदैन, कर लुट्न पाईंदैन’लगायतका नाराहरु लगाए । त्यस्तै, प्रदर्शनकारीहरुले ‘जनता जति खाडीमा, नेताचाहिँ गाडीमा, ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘ईनफ ईज ईनफ’लगायतका नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

जेनजी प्रदर्शनमा सहभागी आकाश पौडेलले भ्रष्टाचार र लुटतन्त्रबिरुद्द प्रदर्शन गरिएको बताए । हामीले सहनसम्म सहयौं,उनले आक्रोस व्यक्त गर्दै भने,‘तर अझै पनि लुट्न छाडेनन् । यहि लुटतन्त्रबिरुद्द हाम्रो प्रदर्शन हो ।’ उनले जनतालाई सचेत बनाउन पनि प्रदर्शनको उद्देश्य रहेको बताए । भ्रष्टाचारी नेतालाई नै हामी बारम्बार भोट हालेर जिताईरहेका छौं,उनले भने,‘प्रदर्शनले भ्रष्टाचारीलाई भोट हाल्नेले पनि थाहा पाओस् र सहभागी जेनजीले घरमा गएर आ–आफ्नो घरमा गएर बाआमालाई भ्रष्टाचारी नेतालाई भोट नहाल्न आग्रह गरोस् ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।