जेनजीले लगाए गण्डकीको मुख्यमन्त्री कार्यालय, पोखरा महानगरदेखि सबै सरकारी कार्यालयमा आगो


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २४

जेनजी प्रदर्शनकारीले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले गण्डकी प्रदेश सभामा पनि आगजनी र तोडफोड गरेका छन् । ठूलो संख्यामा पुगेका जेनजी प्रदर्शनकारीले प्रदेश सभा कार्यालय परिसर प्रवेश गरेर आगजनीसँगै तोडफोड गरेका हुन् । प्रदर्शनकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमासमेत तोडफोड तथा आगजनी गरेका छन् ।

जेनजी प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी तथा तोडफोड गरे । उनीहरुले महानगरपालिका परिसर भित्रै प्रवेश गरेर तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । सो क्रममा उनीहरुले महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत जयराम आचार्यलगायत चढ्ने गाडीहरु जलाए । साथै त्यहाँ रहेका सबै मोटरसाईकलमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पोखरा महानगरका अधिकांश वडा कार्यालयमा आगजनी गरेका छन् । सरकारी कार्यालय र सरकारी पदाधिकारी बस्ने घर तथा निवासमासमेत उनीहरुले आक्रमण तथा आगजनी गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ लगायतका वडा कार्यालयमा आगजनी गरेका छन् । यी सबै वडा कार्यालय मंगलबार बन्द भएकाले मानवीय क्षेती भएको भने खबर प्राप्त भएको छैन ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कास्की र लेखनाथस्थित ईलाका प्रशासन कार्यालयमासमेत आगजनी गरेका छन् । उनीहरुले अदालतमा पनि आगजनी गरेका छन् । उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीमा पनि उनीहरुले आगजनी गरेका हुन् । उनीहरुले अख्तियार दूरुपयोग तथा अनुसन्धान कार्यालयमासमेत तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले प्रहरी विट तथा ट्राफिक विटमा पनि आगजनी गरेका छन् । प्रहरी तथा ट्राफिक कम भएका विटहरुमा उनीहरुले आक्रमण गरेर आगजनी तथा तोडफोड गरेका हुन् ।

प्रदर्शनकारीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा चढेको गाडी जलाएका छन् भने उनको न्यूरोडस्थित घरमा तोडफोड गरेका छन् । उनीहरुले पोखराका ४ होटल तथा रिसोर्टमा तोडफोड तथा आगजनी गरेका छन् । मन्त्री थापाले सञ्चालन गरेको लेकसाईडमा रहेको अंशुवरा होटल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सञ्चालन गरेको होटल गुडविल, गण्डकी प्रदेश सभा सदस्य पम्फा पहारीको परिवारले सञ्चालन गरेको होटल एडम र माओवादी निकट जितु गुरुङले सञ्चालन गरेको बरपिपल रिसोर्टमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पोखरास्थित नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय र गण्डकी प्रदेश कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यको घर, मेयर आचार्यका भाई शिवराज आचार्यलगायतले सञ्चालन गरेको पोखरा ईभेन्ट सेन्टरमा पनि आगजनी तथा तोडफोड गरेका छन् । उनीहरुले पोखरा सिर्जनाचोकस्थित एनसेलको कार्यालयमासमेत तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

प्रदर्शनकारीले पोखरा पृथ्वीचोकमा रहेको लखन थापा मगरको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक ठड्याएका छन् । आगजनीका कारण धुवाँको मुस्लोले पोखरा ढाकेको छ । जसले गर्दा पोखराको आकाश प्रदूर्षण भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।