कास्कीका निजी विद्यालय आज र भोलि पनि बन्द रहने


     एभरेस्ट आवाज    
     भाद्र २६ गते २०८२ मा प्रकाशित




पोखरा । कास्की जिल्लाका संस्थागत विद्यालयहरू आज (भदौ २६ गते) र भोलि (भदौ २७ गते) पनि बन्द रहने भएका छन्।

जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण सार्वजनिक यातायात तथा बजार बन्द लगायतका कारण विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो।

मन्टेश्वरी एसोसिएसन, कास्की अध्यक्ष भवानी अधिकारी, हिसान कास्की अध्यक्ष दिवाकर जैसी एनप्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी र प्याब्सन, कास्की अध्यक्ष षडानन्द गौतमद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त जानकारी गराइएको हो ।

विद्यालय सञ्चालकहरूले अभिभावकहरूलाई जारी गरेको विशेष सूचनामा भनिएको छ, “देशका विभिन्न ठाउँमा निषेधाज्ञा जारी रहेको, सार्वजनिक यातायात र बजार बन्द रहेको र विद्यमान अन्योलका कारण सुरक्षा व्यवस्थाबारे ढुक्क हुन नसकिएकाले भदौ २६ र २७ गते थप दुई दिन विद्यालय बन्द गरी अनुकूल वातावरणको प्रतीक्षा गर्ने निर्णय भएको कुरा सूचित गर्दछौं।”

सूचनामा विद्यार्थीहरूको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन पनि अभिभावकहरूलाई अपील गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।