जेनजीलाई व्यारेक ब्रेकर राजुको आग्रह : संविधान भित्रै बसेर सरकार बनाऔं


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ २७

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनयुद्दका ब्यारेक ब्रेकर राजु क्षेत्रीले संविधान भित्रबाटै सरकार बनाउन जेनजीलाई आग्रह गरेका छन् । सामाजक सञ्जालमा आज एक भिडियो सन्देश अपलोड गर्दै उनले भनेका छन्,‘यो संविधानमा टेकेर, संविधान भित्रैबाट नया सरकार बनाऔं र त्यो सरकार तपाईंहरुको नेतृत्वमा बनोस् ।’ उनले अहिले बन्ने अन्तरिम सरकारले चुनाव गराउनुपर्ने बताए । त्यो चुनावमा जेनजी पुस्ताको दुईतिहाई आओस् भन्दै उनले भनेका छन्,‘र त्यसले संविधान आफू अनुकुल बनाओस् । अनि त्यसमार्फत हाम्रो देश, समाज र राजनीति अगाडि बढोस् ।’ संघर्षबाट लडेर बनेको नेपालको संविधानले अहिलेको स्वतन्त्रता दिएको बताउँदै यहि जगमा उभिएर यसमा भएका कमजोरीलाई सच्याउँदै यसका अपूर्णतालाई पूर्ण बनाउँदै जेनजी पुस्ताले देशलाई सभ्य र उन्नत, संविधानबादले व्यवस्था गर्ने राज्यमा लैजाने उनले विश्वास व्यक्त गरेका छन् ।

जनयुद्दमा आफू पनि लागेको स्मरण गर्दै उनले आन्दोलित जेनजीमा आफ्नो तस्बिर देखेको बताएका छन् । क्रान्तिका लागि म पन िविश्वविद्यालयका कक्षाहरु छाडेर तपाईंहरुजस्तै २०५२ सालमा जनयुद्दमा लागेको थिएँ,उनले अगाडि भनेका छन्,‘क्रान्तिकै लागि जेल बसेको थिएँ, व्यारेक बसेको थिएँ, व्यारेक तोडेको थिएँ । साना साना बच्चा र बाआमा छाडेर हिंडेको थिएँ परिवर्तनका लागि । त्यो परिवर्तनका लागि आज तपाईंहरु हिंड्नुभएको छ । त्यसकारण तपाईंहरुको अनुहारमा मैले मेरो हिजोको विगत देखेको छु ।’ आजको जेनजी आन्दोलनमा आफ्नो छोरा पनि सहभागी भएको र यस आन्दोलनको रिपोर्टिङका लागि फिल्डमा पुग्दा गौरवान्वित महशुष गरेको बताएका छन् उनले ।

अहिलेको जेनजीलेजस्तै अघिल्लो पुस्ताका जेनजी पनि क्रान्तिमा सहभागी भई उनीहरुकै बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आएको र अहिले प्राप्त अधिकारहरु त्यसैको उपज भएको उनले जिकीर गरेका छन् । जेनजीको आन्दोलनप्रति विश्वास व्यक्त गर्दै उनले अगाडि भनेका छन्,‘मलाई विश्वास छ तपाईंहरुले गरेको यो आन्दोलन, विद्रोह, क्रान्ति वा बलिदान पछाडि हाम्रो देश राजनीतिक, सामाजिक र आर्थिक हिसाबले आज हामीले बाँचीरहेको समाज भन्दा माथि पुग्नेछ । र उन्नत खालको लोकतन्त्रमा प्रवेश गर्नेछ ।’ उनले जेनजीको यस आन्दोलन पश्चात देशको राजनीति नया कोर्षमा प्रवेश गरेको बताएका छन् । यहि आन्दोनको जगमा वर्तमान संविधानमा रहेका अपूर्ण लोकतन्त्रलाई पूर्णता दिने, पूर्ण समानतामा आधारित राज्य बन्नेछ ।’ उनले तत्कालीन जनयुद्दमा भएका हत्या, बलात्कार, हिंसा, बेपत्ताका घटनाको स्मरण गर्दै त्यसको पनि छानविन भइरहेकाले अहिलेको जेनजी आन्दोलनमा भएका घटनाको पनि छानविन गर्नुपर्ने बताएका छन् । जेनजी आन्दोलन भाँड्नको लागि र अराजनीतिक मानिसहरुले कब्जामा लिनका लागि भएका हरकतको पनि छानविन हुनुपर्ने बताउँदै उनले भनेका छन्,‘ती मानिसहरु तपाईंहरुले ल्याउने शासन व्यवस्थामा कारवाहीको दायरामा आउनेछन् र आजको अराजक र भद्रगोल अवस्थाबाट देश सुशासन र सुसभ्यता, सुसंस्कृत समाजका रुपमा अगाडि जानेछ ।’

क्षेत्रीले जेनजीमा सत्तामा बसेर केहि मानिसहरुले देश लुटेकोमा आक्रोस रहेको र यहि कारण देश गरीब बनेकोमा आफ्नो दुईमत नरहेको बताएका छन् । तर सबैले लुटेर र भ्रष्टाचार गरेरमात्रै सम्पती आर्जन नगरेकोतर्फ सचेत गराउँदै उनले भनेका छन्,‘तपाईंहरुमा जोश छ, यो व्यवस्थाप्रति आक्रोस छ । तर सबै मानिसहरुले भ्रष्ट आचरणका कारण सम्पती जोडेका छैनन् । ठडिएका सबै घरहरु भ्रष्टहरुका होईनन् । सबै व्यवसायहरु लुटको धनबाट गरिएका होईनन् । अब तपाईंहरुले त्यसको संरक्षण गरेर यो देशलाई समुन्नत, सभ्य र विकशित देश बनाउने तपाईंहरुको जिम्मा छ ।’ उनले समुन्नत देश बनाउने सपना पूरा गर्न भिजन आवश्यक भएको बताएका छन् । त्यसका लागि राजनीतिक रुपमा हिजो लडेकाहरुको अनुभव अहिलेको जेनजीलाई काम लाग्न सक्ने भएकाले त्यसको आवश्यक्ता परे सहयोग लिन आग्रह गरेका छन् ।

क्षेत्रीले जेनजीको आन्दोलन सहि भए पनि केहि तत्वहरुले जेनजी आन्दोलनको नाममा आतंक सिर्जना गर्ने, चोरी, लुटपाट गर्नेलगायतका कार्यहरु गरिरहेको औंल्याएका छन् । त्यसलाई कानूनी कठघरामा उभ्याउन आग्रह गर्दै उनले भनेका छन्,‘जेनजीको नाममा देशभरिका जेलहरुबाट अपराधीहरु भागेर बाहिर निस्किएका छन् । अब ती अपराधीहरु समाजको आतंकको कारण बनिरहेका छन् । मानिसहरु डराईरहेका छन् । यहि कारण जनता आरामसँग सुत्न पाइरहेका छैनन् । जेनजीका भाईबहिनीहरुलाई मेरो अनुरोध छ तपाईंहरु गाउँगाउँ पुग्नूस् । त्यस्ता चरित्रका मानिसहरुलाई समातेर कारवाहीका लागि प्रहरीलाई बुझाउनूस् ।’

क्षेत्रीले आज जलेको भग्नावशेषको खरानी पनि भोलि नया नेपाल निर्माणका लागि काम लाग्न सक्ने भएकाले सुरक्षित राख्न आग्रह गरेका छन् । त्यसका लागि अघिल्लो पुस्ताको बल, बुद्दि र अनुभव चाहिएको अवस्थामा साझेदारी गर्न आफूहरु आतुर रहेको बताउँदै उनले भनेका छन्,‘हामीले लडेर ल्याएको संविधान तपाईंहरुको पनि संविधान हो । यस अर्थमा यी सम्पतीहरु जेनजीलाई सुम्पिदैछौं ।’ तर यसलाई अन्यथा नठान्न चेतावनी दिदै उनले भनेका छन्,‘यसको अर्थ हामी मरिसक्यौं, हामी केहि गर्न सक्दैनौं भन्ने होईन, हामी ज्यूँदैछौं । युद्द गरेर, क्रान्ति गरेर ल्याइएको व्यवस्थाका लागि अझै पनि, यसलाई अपूर्णताका लागि पूर्णताका लागि हामी तपाईंहरुका लागि साथमा छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।