पोखरा, २७ भदौ ।
पोखरा उद्योग वाणिज्य संघ तथा सोसँग आवद्ध बस्तुगत संघ/संस्थाहरुले वर्तमानमा देखिएको गतिरोध अत्यको पहलको लागि सरोकारवाला संस्थाहरुको ध्यानाकर्षण गराएका छन् । ती व्यावसायिक संघ/संस्थाहरुले देशले थप अराजकता र हिंसा थेग्न नसक्ने तथ्यको मनन गर्दै देशलाई कानूनी शासनको बाटोमा डोहो¥याउन माग पनि गरेका छन् ।
ती संघ/संस्थाको तर्फबाट शुक्रबार जारी संयुक्त अपिलमा संवैधानिक संस्थाहरुबाट गतिरोध अन्त्यको लागि भएको पहलको प्रशंसा गर्दै सहमतिको मार्गमा प्रवेश गर्न ढिला नगर्न र स्थायी शान्तिका निम्ति सवै पक्षबाट सामूहिक प्रतिवद्धताका निम्ति अनुरोध पनि गरिएको छ ।


अपिलमा संक्रमणकालको तत्काल अन्त्य तथा शान्ति सुरक्षा बहालीको माग गरिएको छ । अपिलमा भनिएको छ,‘ संक्रमणकाल लम्बिँदा अराजकता र अस्थिरता चाहने समूहहरु जुर्मुराउँछन् । स्वार्थ समूह र आपराधिक चरित्रका व्यक्तिहरु हावी हुन खोज्छन् । त्यस्तो प्रवृत्ति कार्यपालिकाको क्रियाशिलता एवं मजबुत सुरक्षा व्यवस्थापले मात्र निरुत्साहित हुन्छ ।’
नेपालको निजी क्षेत्र सदैव आत्मनिर्भर अर्थतन्त्र निर्माणका निम्ति उद्योग÷व्यवसायको संचालन एवं युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न उद्यत रहेको बताउँदै संयुक्त अपिलमा भनिएको छ,‘ निजी क्षेत्रको मनोवल नउकासिएसम्म,लगानीको लागि उचित वातावरण र शान्ति सुरक्षा प्रदान नगरेसम्म त्यो अवस्था आउँदैन भन्नेमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छौँ ।
अपिलमा जेनजी पुस्ताको अगुवाइमा भदौ २३ गतेबाट सुरु भएको आन्दोलन र सो उपक्रममा भएको ठूलो जनधनको क्षतिले हामीलाई स्तब्ध उल्लेख गर्दै सुशासन र समृद्धिका निम्ति ज्यानको आहूति दिने होनाहार नवयुवाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
जेनजी आन्दोलनले सुशासन र समृद्धिका निम्ति भए पनि आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमाथि भएको आगजनी,तोडफोड र लुटपाटका घटनाले भने समृद्धिको यात्रा कठीन बनाएको पनि अपिलमा उल्लेख छ ।
‘व्यावसायिक प्रतिष्ठानमा भएको आक्रमणले व्यक्तिको सम्पत्तिमाथिको अधिकारको हननमात्र गरेको छैन, राज्यलाई कर तिर्ने तथा रोजगारी सिर्जना गर्ने उद्योगी÷व्यवसायीलाई निराश तुल्याएको छ,’अपिलमा भनिएको छ,‘ हामी आन्दोलनको क्रममा भएको तोडफोड,आगजनी र लुटपाटका घटनाहरुको घोर निन्दा गर्दै जेनजी आन्दोलनमा भएको घुसपैठको स्वतन्त्र छानबिन गरी आपराधिक क्रियाकलापमा संलग्नहरुलाई कडा कारवाही एवं उचित क्षतिपूर्तिको माग पनि गर्दछौँ ।’
आन्दोलनको क्रममा अरबौंको सार्वजनिक तथा निजी सम्पत्ति नष्ट भएको उल्लेख गर्दै अपिलमा प्रशासनबाट जारी सूचना र आदेशहरु पालना गर्न निजी क्षेत्रलाई आह्वान गर्दै भनिएको छ,‘प्रशासनबाट जारी सम्पूर्ण सूचनाहरुको पालना गर्दै आफ्नो र उद्योग÷व्यवसायको सुरक्षा प्रबन्ध मिलाउन उद्योगी÷व्यवसायीहरुसँग आग्रह गर्दछौँ भने आपराधिक क्रियाकलाप रोक्नकानिम्ति प्रशासनले अझ क्रियाशिलता देखाओस् भन्ने माग गर्दछौं । साथै व्यावसायिक सुरक्षाकानिम्ति सम्पूर्ण व्यवसायीहरु सतर्क र एकजुट हुनसमेत हार्दिक अपिल गर्दछौँ ।’
पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम,अधिकृत बिक्रेता संघ कास्कीका अध्यक्ष मनोजकुमार श्रेष्ठ,कपडा व्यवसायी एसोसियसनका अध्यक्ष लेखनाथ पौडेल, पोखरा इलेक्ट्रोनिक्स तथा मोवाइल व्यवसायी संघ, कास्कीका अध्यक्ष चिन्तामणि खरेल, कास्की पोखरा हस्तकला संघका अध्यक्ष सीता गुरुङ, पोखरा भाँडा व्यवसायी संघ कास्की अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी,कस्मेटिक व्यवसायी संंघ कास्कीका अध्यक्ष लक्ष्मणप्रसाद आचार्य,पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष पर्शुराम तिवारी,जुत्ता व्यवसायी संंघ कास्कीका अध्यक्ष हेमकृष्ण श्रेष्ठ, पोखरा हार्डवयर एशोसिएसन, कास्की अध्यक्ष अर्जुनबहादुर थापा,फेन्सी तथा रेडिमेड व्यवसायी संंघ कास्कीका अध्यक्ष यादवप्रसाद पोखरेल,सुनचाँदी व्यवसायी संघ कास्की अध्यक्ष भविन्द्र विश्वकर्मा, पोखरा इलेक्ट्रिक क्लबका अध्यक्ष अमृत पोखरेल, मदिरा व्यवसायी समिति कास्की बरिष्ठ उपाध्यक्ष नेत्र ढ्ुङ्गाना, थोक व्यवसायी संंघ पोखराका महासचिव शम्भुनाथ योगीद्वारा हस्ताक्षरित तथा पोखराका ३० वटा व्यावसायिक संघ÷संस्थाको तर्फबाट जारी अपिलमा आन्दोलनको नेतृत्व गरेको जेनजी पुस्तालाई संयमपूर्ण, रचनात्मक र जिम्मेवार बन्दै अराजकता र अवान्छित गतिविधिहरु रोक्नका निम्ति सक्रिय बन्नका लागि अनुरोध पनि गरिएको छ ।
((
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन्…







