पोखरा । भदौ २३ र २४ गते भएको “जेन जेड आन्दोलन” का क्रममा वडा नं १३ को कार्यालयमा आगजनी र तोडफोड भएपछि अध्यक्ष किरण बरालले वडाबासीलाई एकता र पुनःनिर्माणमा जुट्न आह्वान गरेका छन्।
बरालले आन्दोलनलाई युवा पुस्ताको अधिकार र असमानताको विरुद्धको ऐतिहासिक स्वर भनेका छन्। तर आन्दोलनको क्रममा नियोजित घुसपैठ वा अराजक गतिविधिका कारण सार्वजनिक सम्पत्ति, सरकारी अभिलेख र निजी क्षेत्रमा क्षति पुर्याइनु दुःखद र निन्दनीय भएको बताएका छन्।
“हिजो कार्यालय जलेर खरानी भयो, तर हाम्रो हौसला खरानी भएको छैन। कागज जले, संरचना गयो, तर सेवाको भावना अझ बलियो भएर फर्किएको छ,” उनले भने।
घाइते र पीडित सबैप्रति सहानुभूति व्यक्त गर्दै उनले दोषारोपणभन्दा पुनःनिर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। “अब समय आएको छ — गुनासो होइन, सहभागिताको। एकता र पुनःस्थापनाको बाटो अवलम्बन गर्दै ‘आफ्नो वडा, आफैं बनाउने’ अभियानमा जुट्ने घडी आएको छ,” बरालले वडाबासीलाई आग्रह गरे।
उनका अनुसार, जलेका अभिलेख र सपनालाई नयाँ ज्ञान र अवसरका पानाले बदल्दै वडा फेरि उठ्नेछ। “दुःखलाई शक्तिमा, पीडालाई प्रेरणामा रूपान्तरण गर्नेछौं। हामी फेरि उठ्नेछौं — अझ सशक्त भएर, अझ संगठित भएर,” बरालले बताए।
अन्त्यमा उनले वडाबासीप्रति आभार व्यक्त गर्दै “एउटा ईँटा तपाईंको, अर्को मेरो — हामी सबै मिलेर फेरि वडाको नयाँ ढोका खोल्नेछौं” भन्दै पुनःनिर्माण अभियानलाई सामूहिक आन्दोलनको रूपमा अगाडि बढाउने घोषणा गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







