उपन्यासकार गनेस पौडेलको घरमा दिनदहाडै चोरी, सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार घोषणा


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका–१४, चाउथे नजिक उपन्यासकार गनेस पौडेलको घरमा हिजो (भदौ २७ गते) दिउँसो करिब १२ देखि १ बजेको बीचमा चोरी भएको खबर छ।

पौडेलले सामाजिक सञ्जाल सबुकमा स्टाटस लेख्दै कोही नभएको मौका पारेर अज्ञात व्यक्तिले घरको मुख्य ढोका फोडी सरासर नगद र सुनचाँदी राखिएको स्थानबाट सामान चोरी गरी फरार भएको बताएका छन् । अन्य कोठा वा सामग्रीमा भने कुनै क्षति नपुर्याइएको बताइको छ ।

घटनापछि तत्कालै प्रहरी प्रशासनलाई जानकारी गराइएको पौडेलले बताए। उनका अनुसार यो चोरी सामान्य घटना नभई योजनाबद्ध ढंगले घरको नक्सा र गतिविधि नजिकबाट बुझ्ने व्यक्तिको संलग्नता देखिन्छ।

“हामीलाई ठ्याक्कै थाहा छ सम्भावित पात्रहरू को हुन्। वडा नं. १४ का पटके चोरहरूको सक्रियतामा बाहिरबाट बोलाइएको व्यक्तिबाट यो काम भएको हो भन्ने हाम्रो ठम्याइ छ,” पौडेलले भने।

घटनास्थल नजिकै रहेको सिसिटिभी फुटेजबाट पनि चोरीमा संलग्नको बारेमा थप जानकारी आउने अपेक्षा गरिएको छ। चोरीको क्रममा प्रयोग गरिएका हतियार फेला परेपछि, परिवारका सदस्यसँग जम्काभेट भएको भए ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको पौडेलको भनाइ छ।

सामुदायिक सचेतनाकालागि आग्रह :

राजनीतिक अस्थिरताको कारण जेलबाट फरार अपराधीहरू पुनः सक्रिय भएको भन्दै पौडेलले हत्या, लुटपाट, बलात्कारजस्ता घटनाहरू बढ्न सक्ने चेतावनी दिएका छन्। सुरक्षा निकाय दबाबमा रहेको परिस्थितिमा छिमेकीले एक–अर्काको घरमा निगरानी गर्ने बानी बसाल्न उनले आग्रह गरे।

५ लाख रुपैयाँ पुरस्कारको घोषणा :

पौडेलले यो चोरी आफैंलाई नजिकबाट चिनेका व्यक्तिबाट भएको दाबी गर्दै जो कोहीले शंकास्पद गतिविधि वा अस्वभाविक आर्थिक व्यवहार गर्ने व्यक्तिबारे जानकारी गराएमा गोपनीयता कायम गर्दै ५ लाख रुपैयाँसम्मको पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेका छन्।

चोरी भएको दिन (भदौ २७) दिउँसो ११ देखि २ बजेसम्म चाउथे र निराजन चोक आसपास कालो वा नीलो मोटरसाइकलमा आएका, कालो पोशाक लगाएका र लेगगार्डमा सेतो वा खरानी रंगको झोला झुन्ड्याएका शंकास्पद व्यक्तिको दृश्य कसैको सिसिटिभीमा कैद भएको भए ९८१६६-८७७१३ मा सूचना उपलब्ध गराउन पौडेलले अनुरोध गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।