पोखरा, भदौ २८ ।
हालै सम्पन्न जेन-जि आन्दोलनका क्रममा पोखरा महानगर प्रमुख धनराज आचार्यको निजी निवासमा भएको आगजनी र तोडफोड आन्दोलनमा घुसपैठ गरेका असामाजिक समूहहरूले स्वार्थसिद्धिका लागि गरेको आचार्यले बताएका छन्।
सामाजिक सञ्उजाल फेसबुकमा एक स्नटाटस लेख्दै महानगर प्रमुख आचार्यले सो निवास करिब २० वर्षअघि निर्माण गरिएको बताए । “म महानगर प्रमुख बनेदेखि कुनै आर्थिक लाभ लिएको छैन। मेरो मासिक सुविधा समेत विद्यार्थी शिक्षादान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको कुरा जगजाहेर छ,” आचार्यले भने।
उनले आन्दोलनमा दिवंगत भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। भ्रष्टाचारविरुद्धको जेन-जि आन्दोलनप्रति आफ्नो अटल ऐक्यबद्धता दोहोर्याउँदै उनले भने, “आन्दोलनको पवित्र उद्देश्यलाई बाहिरी तत्वहरूले बिगारेका छन्। जनधनको क्षति गराउने गतिविधि षड्यन्त्रपूर्ण रहेछन्।”
आचार्यले पोखरामा जनताको नजिकको सरकारका रूपमा रहेका कार्यालयहरूमा गरिएको आगजनी र तोडफोड आन्दोलनकारी युवाभन्दा बाहिरी समूहको कार्य भएको दाबी गरेका छन्। हाल प्रशासनले क्षतिको विवरण संकलन गरिरहेको उनले जानकारी दिए।
महानगरको कार्यपालिका बैठक बसेर अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिनेबारे महत्वपूर्ण निर्णय भइरहेको पनि उनले बताएका छन्। नगरवासीलाई धैर्यपूर्वक साथ दिन उनले आग्रह गरे।
३३ वर्षदेखि विभिन्न पेशा र व्यवसायमा सक्रिय रहेको र आफ्नो जीवन पोखरेलीहरूसामु “खुला किताबझैं” रहेको आचार्यले स्पष्ट पारे। उनले विगत ३ वर्षको नेतृत्वमा कुनै अनैतिक कार्य नगरेको दाबी गर्दै भने, “केही स्वार्थी समूहहरूले गलत काम नगरिदिएको कारण र निहित स्वार्थका आधारमा मेरो परिवारलाई निरन्तर बदनाम गर्न खोजिरहेका छन्।”
घटनाबारे आचार्यले गहिरो दुःख व्यक्त गर्दै भने, “पृथ्वी गोलो छ । मैले कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन। तर आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएकाहरूले सत्यलाई कहिल्यै दबाउन नसक्ने कुरा बिर्सनु हुँदैन।”
कठिन समयमा सान्त्वना र सहयोग प्रकट गर्ने सम्पूर्ण इष्टमित्र, साथीभाइ तथा शुभेच्छुकप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






