सन्देश श्रेष्ठ
पोखरा, भदौ ३०
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न कास्कीका दुई वडा सभापतीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारवाही गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएपछि रास्वपा गण्डकी प्रदेशले कास्कीको पोखरा र मादीका एक/एक वडा सभापतीलाई निलम्वन गरेको हो ।

रास्वपा पोखरा महानगर–१० का सभापती चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेल जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न भएका थिए । रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले गरेको छानविनमा यी दुई सभापती संलग्न भएको पुष्टि भएपछि निलम्वन गर्ने निर्णय भएको आयोगका गण्डकी प्रदेश प्रमुख योगेन्द्र केसीले जानकारी दिए । कारवाही सम्बन्धी सोमबार जारी रास्वपा गण्डकी प्रदेशको विज्ञप्तीमा भनिएको छ,‘थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ ।’ आयोग प्रमुख केसीले पार्टीको आचारसंहिता विपरित तोडफोड र आगजनीमा संलग्न भएको पुष्टि भएकाले कारवाही गरिएको र अर्को निर्णय नभईञ्जेल यो लागु हुने उनले बताए ।

यी दुई सभापती तोडफोड र आगजनीमा संलग्न भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । सोहि आधारमा उनीहरुमाथि कारवाहीको डण्डा चलेको हो ।
रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले थप दुई जनालाई पनि कारवाहीको तयारी गरेको छ । रास्वपा पर्वतका पूर्व संयोजक सन्तोष रेग्मी र नवलपुरको गैडाकोट नगरपालिका सभापती विनोद घिमिरेलाई पनि कारवाहीको तयारी भएको रास्वपा श्रोतले जनाएको छ । रेग्मी राष्ट्रपतीको नेमप्लेट बोकेर बिरुद्दमा नाराबाजी गरेको तथा घिमिरे जलिरहेको भग्नावशेषमा उभिएर नाराबाजीमा उत्रिएको भिडियो सामाजिक सञ्जालमा भेटिएपछि उनीहरुमाथि कारवाही गर्न लागिएको बुझिएको छ । सम्भवत मंगलबार सम्ममा उनीहरुमाथि कारवाही भइसक्ने श्रोतको दाबी छ ।
अनुशासन आयोग प्रमुख केसीले पार्टीको निर्णय र सर्कुलर बिना तथा आचारसंहिता विपरित तोडफोड र आगजनीमा संलग्न भएका जोकोहीलाई पनि कारवाही गरिने बताए । पार्टीको जोसुकै होस्,निर्णय र निर्देशन बिना आचारसंहिता विपरित तोडफोड र आगजनीमा उत्रिने, पार्टी अनुशासन तोड्ने काम भएको छ भने तिनीहरुलाई निर्मम कारवाही हुन्छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन्…







