सन्देश श्रेष्ठ
पोखरा, भदौ ३१
पोखराको पृथ्वीचोक शालिक राजनीतिको थलो बनेको छ । यस चोकमा हरेक राजनीतिक उथलपुथलमा शालिक फाल्ने र राख्नेको होड चल्ने गर्छ । सदाझैं यस वर्ष पनि यसले निरन्तरता पायो । पोखरा महानगरपालिकाले पोखरा–१८ ज्ञारजातीमा सहिद तथा विभूती पार्क बनाएर सहिद तथा विभूतीहरुको शालिक राख्दै आए पनि पृथ्वीचोकमा हुने शालिक राजनीति भने निरन्तर कायम छ ।
विगतदेखि नै शालिक राजनीतिको केन्द्र बनेको पृथ्वीचोकमा रहेको लखन थापाको शालिक यस वर्ष पनि जेनजी आन्दोलनको मौका पारेर ढलाइएको थियो । भ्रष्टाचारबिरुद्द उठेको आन्दोलनको बेलामा राप्रपाबाट घुसपैठ गरेकाहरुले शालिक राजनीति गर्दै त्यहाँ भएको लखन थापाको शालिक डोजर लगेर भत्काएर तत्कालै पृथ्वीनारायणको शालिक ठड्याएका हुन् । तर पृथ्वीनारायणको शालिक ठड्याएको ५ दिन पनि नबित्ँदै पुनः आदिवासी जनजातीहरुले आईतबार लखन थापाकै शालिक पुर्नस्थापना गरे ।
पृथ्वीचोक कुनैबेला चाईनाचोक भनेर चिनिन्थ्यो । यो चोकमा करीब ८० वर्ष अगाडि नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको शालिक स्थापना गरिएको थियो । तत्पश्चात यो चोक पृथ्वीचोकका नामले चिनियो । तर २०६२÷६३ को दोस्रो जनआन्दोलनका क्रममा शासकबिरुद्द आक्रोसित भीडले पृथ्वीचोकको पृथ्वीनारायण शाहको सो शालिक पनि ढालिदिए ।
दोस्रो जनआन्दोलन पछिको एक वर्षसम्म त्यहाँ कसैको पनि शालिक रहेन । तर पहिचानको आन्दोलनका क्रममा आदिवासी जनजातीहरुले त्यहाँ प्रथम सहिद लखन थापाको शालिक राखे । तत्कालीन समयमा पहिचानको मुद्दा स्थापित गर्ने भन्दै आन्दोलित उनीहरुले शालिक मात्र ठड्याएनन् बरु उक्त चोकको नाम नै फेरेर लखनचोक नामाङ्करण गरे । पछि २०६५ सालमा २४० वर्षदेखिको राजसंस्था ढलेर नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि यो विषय त्यत्तिकै ओझेल प¥यो ।
२०७४ सालमा भने पोखरा महानगरपालिकाले शालिकका कारण चोक साँघुरो भएको र यहि कारण सवारी जाम बढेको भन्दै पोखराका सबै चोकका शालिक हटाउने निर्णय ग¥यो । सोहि निर्णय अनुसार लखन थापाको शालिक पनि भत्काइयो । तर आदिवासी जनजातिहरुले प्रथम सहिद लखन थापाको शालिक भत्काएर आफूहरुको अपमान गरेको भन्दै विरोध जनाए र महानगरबिरुद्द प्रदर्शनमा उत्रिए । तत्कालीन पोखरा महानगरपालिकाका प्रमुख (मेयर) मानबहादुर जिसीले दबाब थेग्न सकेनन् र २४ घण्टा भित्र लखन थापाको शालिक पुर्नस्थापना गर्ने सहमति गरे ।
सो सहमतिको क्षेत्री समाजले विरोध जनायो । महानगरले क्षेत्री समाजसँग आदिवासी जनजातिसँग गरेको सहमतिबाट ब्याक हुँदै सो चोकमा न लखन थापा नत पृथ्वीनारायण शाह कसैको पनि शालिक नराख्ने सहमति ग¥यो ।
सहमतिबाट महानगर ब्याक भएपछि आक्रोसित मगर समुदायले २०७५ सालको जनयुद्द दिवस फागुन १ गतेको अवसर पारेर रातको समयमा लखन थापाको शालिक पुनः ठड्याएको थियो । त्यसयता निरन्तर रहेको शालिक जेनजी आन्दोलनको मौका छोपेर हटाएकोप्रति आदिवासी जनजातिहरु रुष्ट छन् ।
तमु धिँ नेपालका अध्यक्ष हुम तमु प्रथम सहिद लखन थापालाई सम्मानित रुपमा राख्नुपर्ने बताउँछन् । कुत्सित मनसाय र उद्देश्य राखेर प्रथम सहिदको शालिक भत्काउने, हटाउने गर्नू गलत हो,उनले भने,‘बरु व्यवस्थित बनाउन सर्वदलीय, सर्वपक्षीय छलफलमार्फत दीर्घकालीन निकास निकाल्नुपर्छ । त्यसका लागि हामी तयार छौं ।’
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सिनाले पृथ्वीचोकको शालिक राजनीतिले आजित भएको बताउँछन् । दुबै पक्षले महानगरसँग शालिक राख्ने विषयमा एक पटक पनि नसोधेको उनले स्पष्ट पारे । ‘एउटाले आन्दोलनको मौका छोपेर लखन थापाको शालिक हटाएर पृथ्वीनारायणको राख्यो, त्यसको ५ दिन नबित्दै अर्को पक्षले लखन थापाको पुर्नस्थापना ग¥यो । यी दुबै हुँदा महानगरसँग न समन्वय भयो, नत सहमति नै लिएको छ’–उनले भने । उनले पोखरा–मुग्लिङ सडकखण्डमा परेकाले त्यहाँको शालिक व्यवस्थापन गर्नुको विकल्प नभएको बताए । त्यो भनेको ज्ञारजातीमा रहेको सहिद तथा विभूती पार्कमा लैजाने भन्ने रहेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन्…







