पोखरा इभेन्ट सेन्टरमाथि आगजनी र तोडफोडप्रति लगानीकर्ताको चिन्ता, छानबिन गरि कारवाहीको माग


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०८२ मा प्रकाशित




पोखरा । भाद्र २३ र २४ गते आयोजित जेन–जी (नयाँ पुस्ता) आन्दोलनका क्रममा देशभरका घटनाले तातेको बेला पोखरा–६ बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा आपराधिक गिरोहले आगजनी, तोडफोड र लुटपाट गरेको घटनाप्रति इभेन्ट सेन्टरका लगानीकर्ताहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् । लगानीकर्ताहरूका अनुसार आन्दोलनकै नाममा घुसपैठी गिरोहले सेन्टरमा ठूलो र अपूरणीय क्षति पुर्‍याएको छ। करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट हुनुका साथै यस घटनाले उद्यमी–व्यवसायीहरूको मनोबल कमजोर बनाएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक सन्देश प्रवाह गरेको ठहर संचालकको छ।

पोखरा इभेन्ट सेन्टर आधुनिक संरचना र सुविधासहित निर्माण गरिएको भौतिक पूर्वाधार हो, जसमा दुई हजार जनासम्म क्षमताको एउटै हल, कुल पाँच हजार जनासम्मलाई एकैपटक सेवा दिन सक्ने क्षमता, आठवटा बहुउद्देश्यीय हल र स्थायी रुपमा ३५ जनालाई रोजगारी दिँदै आएको थियो। विज्ञप्तिमा उल्लेख भएअनुसार, सेन्टरले पोखराको पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, प्रवासी नेपाली लगानी आकर्षण र अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम आयोजनामा महत्वपूर्ण योगदान गर्ने उद्देश्य राखेर निर्माण गरिएको हो।

तर, भदौ २४ गते दिउँसो करिब १:३० बजे राजनीतिक स्वार्थप्रेरित आपराधिक समूहले तोडफोड, आगजनी र लुटपाट गर्दा करोडौंको क्षति भएको लगानीकर्ताहरूले बताएका छन्।

“नेपालमै केही गर्न खोज्नु गल्ती भयो कि?” :

विज्ञप्तिमा भनिएको छ, “हामीमध्ये धेरै विदेशिने प्रवृत्तिबीच स्वदेशमै केही गर्नुपर्छ भन्ने साहसका साथ बैंकबाट कर्जा लिएर लगानी गरेका थियौं। तर पछिल्ला घटनाले नेपालमै बसेर केही गर्न खोज्नु गल्ती भयो कि भन्ने सोच्न बाध्य भएका छौं।”

यस्तै, इभेन्ट सेन्टरमा राजनीतिक व्यक्तिको लगानी जोडिएको भन्ने हल्ला पटक–पटक फैलाइने गरेकोबारे पनि उनीहरूले आपत्ति जनाएका छन्। उनीहरूले आफूहरू कुनै पनि राजनीतिक दलका कार्यकर्ता नभई शुद्ध व्यवसायिक उद्यमी भएको स्पष्ट पारेका छन्।

निष्पक्ष छानबिनको माग :

लगानीकर्ताहरूले क्षति पुर्‍याउने समूह वास्तविक जेन–जी आन्दोलनकारी नभई आर्थिक, राजनीतिक र व्यक्तिगत स्वार्थका लागि सक्रिय आपराधिक गिरोह भएको दाबी गरेका छन्। उनीहरूले तोडफोड गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, लाखौं युवाको योगदान र कैयनको सहादतबाट आएको यो ऐतिहासिक परिवर्तनलाई सबैले आत्मसात् गर्दै मिलेर अघि बढ्नुपर्ने बेला आएको छ। नयाँ सरकारले भ्रष्टाचारमुक्त देश बनाउन र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सफलता पाओस् भन्ने शुभकामना समेत व्यक्त गरिएको छ।

लगानीकर्ताहरूले अब व्यवसायी वा उद्यमीहरूले त्रसित हुनुपर्ने परिस्थिति नआओस् भन्ने अपेक्षा गर्दै, यद्यपि उनीहरूले भौतिक क्षति बेहोर्नु परेको भए पनि नयाँ र रुपान्तरणकारी शान्त नेपालको सपना चाँडै साकार होस् भन्ने आशा व्यक्त गरेका छन्।

“कठिन परिस्थितिबीच पनि सहकर्मी उद्यमीहरूको आँट, कर्मचारीहरूको व्यवसायिकता, बैंकिङ पार्टनरहरूको समझदारीपूर्ण व्यवहार, शुभेच्छुक र ग्राहकहरूको विश्वासका आधारमा चाँडै परिष्कृत सेवासहित अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ। हामी लडेका हौँ, फेरि उठ्न सक्छौँ। इभेन्ट सेन्टरमा भौतिक क्षति पुर्‍याइएको हो, हाम्रो सपना र उत्साहमा होइन।” भनि दृढता ब्यक्त गरिएको छ ।

उनीहरूले पोखरा इभेन्ट सेन्टर केवल व्यवसाय नभई सेवा पनि भएको, यो सम्पत्ति केवल उनीहरूको मात्र नभई पोखराको ब्रान्ड र पोखरेलीको शान भएको भन्दै यसको गुणस्तरीय सञ्चालन, संरक्षण र प्रवर्द्धनमा सबैको निरन्तर सद्भाव र सहयोगको अपेक्षा गरेका छन्।

पोखरा इभेन्ट सेन्टरका संचालकहरुमा अध्यक्ष इ. रामचन्द्र पोखरेल, निर्देशकहरु राजेन्द्रकुमार बाटाजु, सि.ए. लक्ष्मण अधिकारी, शिवराज आचार्य र टिकादेवी अर्याल रहेका छन्


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।