निर्वाचनका लागि मतदाता नामावली संकलन गर्ने बाटो खुल्ला


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८२ मा प्रकाशित




पोखरा, असोज ८

आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनको बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेपछि मतदाता नामावली संकलनको बाटो खुलेको हो ।

अब निर्वाचनल आयोगले मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि मतदाता नामावली संकलन गर्न सक्नेछ । जसमा यसअघि मतदाता नामावलीमा छुटेका वा दर्ता नभएकाहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले कानुन बमोजिम मतदान गर्न योग्यता पुगेकाहरुको नामावली संकलनको लागि बाटो खुलेको बताए । उनले भने, ‘अध्यादेश जारी भएको छ । अब निर्वाचन आयोगले आवश्यक निर्णय गरेपछि मतदाता नामावली संकलन कार्यको काम अघि बढ्छ ।’

जेनजी युवा आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा मतदाता नामावलीमा नाम लेखाउन पाइँदैन ।

तर, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेका थुप्रै युवाहरुको योग्यता पुगेर पनि मतदाता नामावलीमा नाम दर्ता नभएकाले उनीहरूका लागि नाम दर्ता गराउने कानुनी गाँठो फुकाउन अध्यादेश जारी भएको हो ।

मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ को २ मा भएको व्यवस्था संशोधनका लागि अध्यादेश ल्याइएको हो । उक्त दफामा ‘निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन’ भन्ने व्यवस्था उल्लेख थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।