बिग्रिएको बाटोलाई देखाएर तरकारीमा ब्रह्मलुट

- तरकारीमा अचाक्ली मूल्य बृद्दि हुँदा सरकार मुकदर्शक


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज ९

बिग्रिएको बाटोलाई देखाएर पोखरामा तरकारीको मूल्य अचाक्ली मूल्य बृद्दि गरिएको छ । पहिरोका कारण अबरुद्द मुग्लिङ–नारायणगढ सडक खण्डलाई देखाएर पोखरामा तरकारीको मूल्यमा अचाक्ली मूल्य बृद्दि गरिएको हो । ताजुब लाग्दो कुराचाहिं के छ भने एक हप्तामै तरकारीको मूल्य दोब्बरले मात्र होईन, झण्डै तेब्बरले बृद्दि हुँदा पनि सरकार र अनुगमन समिति मुकदर्शक बनेको छ ।

पोखरामा आज काउली प्रतिकेजी ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । जबकी एकहप्ता अगाडि यसको ख्द्रा मूल्य १ सय २० रुपैयाँ थियो । खुद्रा मूल्यमा नै एक हप्तामा झण्डै तेब्बरले बढेर आज सिद्दार्थचोकस्थित श्री कम्प्लेक्स भित्रको तरकारी मण्डीका पसलहरुमा ३ सय पुगेको छ । पोखरामा काउलीको आजको थोक मूल्य भने १२० रुपैयाँदेखि १ सय ५० रुपैयाँ मात्र छ ।

त्यस्तै, सो तरकारी मण्डीमा आज लौका प्रति केजी १ सय ५० रुपैयाँ छ । जबकी एक हप्ता अगाडि लौका प्रति केजी १ सय रुपैयाँ मात्र थियो । आजको थोक मूल्य भने लौका प्रति केजी १ सय १० रुपैयाँ छ ।

त्यस्तै, आज बन्दाको थोक मूल्य प्रतिकेजी ७० रुपैयाँ छ भने खुद्रा मूल्य १ सय रुपैयाँ, गोलभेँडाको थोक मूल्य प्रतिकेजी १०५ छ भने खुद्रा मूल्य १२०, सिमीको थोक मूल्य १४० छ भने खुद्रा मूल्य २४०, घिरौलाको थोक मूल्य १४५ छ भने खुद्रा मूल्य १७० देखि २ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

खुद्रा मूल्य मात्र होईन, थोक मूल्य पनि एक हप्तामै अचाक्ली बृद्दि भएको छ । एक हप्ता अगाडि प्रतिकिलो ५५ रुपैयाँमा पाइने बन्दाको थोक मूल्य आज ७० रुपैयाँ पुगेको छ । गोलभेंडाको मूल्य प्रतिकिलो ६७ बाट बढेर १०५ पुगेको छ । सिमीको मूल्य प्रतिकिलो १४० बाट बढेर १८० पुगेको छ । घिरौलाको मूल्य पनि प्रतिकिलो ११० बाट बढेर १४५ पुगेको छ । लौकाको मूल्य प्रतिकिलो ७० बाट बढेर ११० पुगेको छ । करेलाको मूल्य पनि प्रतिकिलो ९० बाट अकाशिएर ११० र भिण्डिको मूल्यको १ सय बाट बढेर १६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।
कृषि बजार व्यवस्थापन समिति पृथ्वीचोकका अध्यक्ष नवराज दुवाडीले मुग्लिङ–नारायणगढ बाटो बन्द भएको मौकामा चौका हान्ने प्रयास गरेको बताए । थोक मूल्यमा खासै फरक छैन,उनले भने,‘तर खुद्रा मूल्य ह्वात्तै बढाएर तरकारीमा ब्रह्मलुट मच्चाउने प्रयास भएको छ ।’ अनुगमन नहुँदा पनि तरकारीको मूल्य आफूखुशी राख्ने गरेकाले यस्तो समस्या आएको उनको भनाई छ ।

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर तिमिल्सिनाले थोकमा भन्दा पनि खुद्रा मूल्यमा अचाक्ली मूल्य बृद्दि गरेको पाइएको बताए । परिस्थिति र मनस्थितिका कारण अनुगमन नगरिदा व्यापारीले मौका छोपेर मूल्य बढाएको उनको तर्क छ । जेनजी आन्दोलनका कारण मनस्थिति र परिस्थिति पनि बनेको छैन,उनले भने,‘यस्तो बेलामा अनुगमन नगर्दा झन् मौका छोपेको देखिन्छ । हुन त अघिल्लो वर्ष अनुगमन गरेर आयो फेरी एकछिन् पछाडि अटेर गरी बढेको मूल्यमा बेच्ने पनि गरेको पाईन्थ्यो ।’ एकातिर उपभोक्ताको सहजताका लागि महानगरले सुपथ मूल्य सञ्चालन गर्ने, तर अर्कोतिर व्यापारीले यहि मौका भन्दै मूल्य बृद्दि गर्दा आम उपभोक्ता ठगिएको उनको भनाई छ । महानगरले कृषि एम्वुलेन्स नै सञ्चालन गरेर किसानको तरकारी खरिद गरि बजारमा ल्याएर पोखराका १७ ठाउँमा रैथाने बाली तथा सुपथ पसल सञ्चालन गरेर बिक्री गर्दै आएको छ ।

उनका अनुसार सामान्यतः थोकमूल्यमा २० प्रतिशतसम्म बढाएर खुद्रा व्यावसायीले उपभोक्तालाई तरकारी बेच्ने हो। तर, सतप्रतिशत भन्दा पनि बढी मूल्य लिन ठगि नै हो । ‘व्यावसायीलाई राजमार्ग बन्द भएको बहानामा तरकारीको मूल्य बढी लिन सहज भएको हो। तर, पोखरा भित्रिने तरकारीलाई मुग्लिन–नारायणगढ राजमार्ग अवरुद्ध हुँदा उत्तिसारो असर पर्दैन। दोब्बर बढी मूल्य पर्दै पर्दैन,’ उनले भने ।

एकसाता अन्तरमा तरकारीको थोक मूल्य नै बढेर उपभोक्ताको ढाड सेकिएको अवस्थामा व्यवासायीले झनै बढी मूल्य असुल्नु अन्याय नै भएको उनले बताए । ‘पोखरामा अधिक तरकारी धादिङ, मकवानपुर (पालुङ) लगायतका जिल्लाबाट आउँछ। मंगलबार मुग्लिन–काठमाडौं राजमार्ग अवरुद्ध हुँदा तरकारी भित्रिन पाएको थिएन । तर, बुधबार सहज भईसकेको छ। व्यावसायीले मुग्लिन–नारायणगढ सडक अवरोधलाई बहाना बनाएर मूल्य असुल्नु सिधै ठगि नै हो,’ उनले भने, ‘पोखरा–काठमाडौं राजमार्गमा अवरोध भएमा केही असर पर्छ। तर, व्यावसायीले उपभोक्तालाई भ्रममा पारेर ठगिरहेका छन।’ चाँडबाँडको मौका र राजमार्गको अप्ठेरो देखाउँदै तरकारीमा दोब्बर मूल्य असुल्नु सिधै ठगि भएको पनि उनले बताए ।

कृषि बजार व्यवस्थापन समितिकी योजना सहायक रुपा दाहालले एकसाताकै अन्तरमा थोक मूल्यमा वृद्धि भएपनि दोब्बर भन्दा बढी भने पर्दैन । दाहालले भनिन, ‘उपभोक्तामाथि सरासर ठगि गरिएको छ । उपभोक्ताको ढाड सेक्ने गरि मूल्य लिन पाइँदैन।’ । उनका अनुसार तरकारीमा थोक मूल्यमा १० देखि २० प्रतिशतसम्म मुनाफा राख्न पाईन्छ । तर त्यो भन्दा बढी मुनाफा राख्नु गैरकानूनी हो । यद्वपी तरकारीमा यति नै मुनाफा राख्ने भन्ने कुनै नियम, कानून वा कार्यविधी छैन ।

दाहालका अनुसार पोखरामा दिनमा ४ सय मेट्रिक टनसम्म तरकारी खपत हुन्छ । त्योमध्ये स्थानीय उत्पादनले पोखराको मागको करिब २० प्रतिशत मात्र हिस्सा ओगटछ । स्थानीयले नपुगेपछिको अपुग तरकारी छिमेकी र अन्य जिल्लाबाट आयात गर्ने गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।