कास्कीमा चाडपर्व सुरक्षा योजना : कुकुरसहितको चेकिङ, पेट्रोलिङ र एम्बुसिङ चेकिङ


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज १०

कास्की प्रहरीले चाडपर्व सुरक्षा योजना लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपालीको महान चाँड बडादशैंको अवसरमा आम नागरिकको शान्ति सुरक्षा, अमनचयन कायम गर्न चाडपर्व सुरक्षा योजना लागु गरेको हो । जसका लागि कास्कीमा मात्रै ९ सय २३ जना प्रहरी परिचालन गरिएको जनाइएको छ ।

कास्की प्रहरीले बडादशैंको अवसरमा कुनै पनि अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिनका लागि कुकुरसहितको चेकिङ शुरु गरेको जनाएको छ । घटना घटाएर हिंडेकालाई पक्राउ गर्नका लागि कुकुरसहितको चेकिङ शुरु गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए । उनका अनुसार चाडपर्व सुरक्षा योजना अन्तर्गत टोलटोलमा पैदल गस्ती, ग्रामिण गस्ती, पट्रोलिङलगायत पनि शुरु गरिएको छ ।

चाडपर्व सुरक्षा योजना अन्तर्गत कास्की प्रहरीले एम्बुसिङ चेकप्वाईन्ट पनि शुरु गरेको एसपी कार्कीले बताए । उनका अनुसार गौंडामा लुकेर गरिने एम्बुसिङ चेकप्वाईन्ट चोरी, डकैती र लुटपाटमा संलग्न भएकालाई नियन्त्रणमा लिनका लागि गरिएको हो । त्यसबाहेक उछृङखल गतिविधी नियन्त्रण गर्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, चर्को आवाजमा मोटरसाईकलचलाई अशान्ती फैलाउने, जुवा, तास खेल्ने, खेलाउने जस्ता गतिविधी नियन्त्रण गर्न बजार अनुगमन पनि शुरु गरिएको उनले बताए । त्यस्तै सादा पोशाकमा समेत प्रहरी परिचालन गरी आम नागरिकहरूमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रयास गरिएको उनको भनाई छ ।

यात्रुहरुलाई सहायता गर्ने, बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गर्ने, सिट क्षमता भन्दा बढी यात्रु चढाउनेलाई कारवाही तथा सहजिकरण गर्ने र सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि पनि सवारी साधन चेकजाँच गर्ने कार्य भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।