सन्देश श्रेष्ठ
पोखरा, असोज १२
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा गएराती आगजनी भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको आगजनीपश्चात भग्नावशेषमा परिणत भएको पोखरा राष्ट्रबैंक चोकस्थित मुख्यमन्त्री पाण्डेको नीजि निवास परिसरमा बाँकी रहेको एउटा कोठामा गएराती एउटा समूहले आगजनी गरेको हो । अज्ञात समूहले ताला लगाएको गेट माथिबाट प्रवेश गरेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगजनी गर्ने समूह को हो भन्ने खुलेको छैन भने कसैले जिम्मेवारी पनि लिएको छैन । प्रहरीले भने यसको अनुसन्धान गरिरहेको जनाएको छ । आगजनीका कारण बाँकी रहेको कागजपत्र जलेर नष्ट भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि भदौ २४ मा भएको आगजनी र तोडफोडका कारण अधिकांश कागजात जलेर खरानी भएका थिए, मुख्यमन्त्री पाण्डेलाई उद्दृत गर्दै उनी निकट श्रोतले भन्यो,‘शनिबार रातीको आगजनीका कारण बाँकी कागजात पनि जलेर नष्ट भएको छ ।’
कास्की प्रहरीले आगजनी आन्दोलनकारीले गरेजस्तो नदेखिएको जनाएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले आगजनी आन्दोलनकारीले नभई कुनै गजडी समूहले गरेकोजस्तो देखिएको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आगजनी गजडी समूहले लगाएजस्तो देखिएको बताउँदै एसपी कार्कीले भने,‘आगजनीमा आन्दोलनकारीको संलग्नताजस्तो देखिदैन । बरु गजडी समूहले गाजा खाएर पछि आगो लगाईदिएको जस्तो देखिन्छ ।’ उनका अनुसार आगजनी भएको स्थानमा थोरै मात्रामा गाँजासमेत भेटिएको छ । त्यस आधारमा पनि गजडी समूहले नै आगजनी गरेको आशंकालाई बल पुग्ने उनको भनाई छ ।
आगजनीपछि मुख्यमन्त्री पाण्डे भने प्रमुख सचिवको निवासमा बस्दै आएका छन् ।
जेनजी आन्दोलनमा गण्डकीमा ४८ वटा भवनमा क्षेती पुगेको सरकारी तथ्याङ्क छ । जसमध्ये १३ वटा पूर्ण रुपमा जलेर नष्ट भएकाले त्यहाँ बस्न वा कार्यालय स्थापना गर्न नमिल्ने भएको छ । थप १६ वटामा क्षेती धेरै भएकाले मर्मतसम्भार नगरी तत्काल बस्न नमिल्ने भएको छ भने बाँकी १९ वटा भवन भने कामचलाउ रुपमा बस्न मिल्ने भएकाले खरानी टकटक्याएर सेवा दिन शुरु गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





