सर्वपक्षीय, तटस्थ र विश्वासिलो जाँचबुझ आयोग गठन गर्न अनेरास्ववियु गण्डकीको माग


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८२ मा प्रकाशित




गत भाद्र २३ र २४ मा भएको‘जेन–जी’आन्दोलनपछि देशमा जारी घटनाक्रमप्रति अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आन्दोलन सकिएर नयाँ सरकार गठन भएको दुई साता पछि संगठनले विज्ञप्ती जारी गरी नेपाली जनताको लामो संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकार, आन्तरिक शान्ति र राष्ट्रिय सार्वभौमसत्तामाथि हाल भइरहेको असंवैधानिक तथा चिन्ताजनक गतिविधिलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यासका मूलभूत अधिकारहरुलाई कुठाराघात गर्न नसकिँने स्पष्ट पारेको छ ।गण्डकी प्रदेश कमिटीका संयोजक सुशन घिमिरेले जारी गर्नुभएको विज्ञप्तीमा आन्दोलन पश्चात संसद् विघटन गरेर गठन गरिएको वर्तमान सरकारलाई तीन बँुदे एजेण्डाहरूमा ध्यानाकर्षण समेत गराईएको छ । उसले राजनीतिक प्रतिशोधको आधारमा पूर्वप्रधानमन्त्री, गृहमन्त्री र अन्य उच्च पदस्थ अधिकारीहरूको पासपोर्ट रोक्का गरी आवागमनमा प्रतिबन्ध लगाउने निर्णय स्वीकार गर्न नसकिने जनाउँदै मुलधारका पार्टी तथा तिनका नेतृत्वमाथि गरिएको निषेध र प्रतिशोधको राजनीति लोकतन्त्र र विधिको शासनलाई कुठाराघात गराउने भएकाले उक्त निर्णय यथाशीघ्र सच्याउन अनुरोध गरेको छ।

त्यस्तै सामाजिक सञ्जालमार्फत सार्वजनिक खपतका लागि ‘रूल अफ ल’ विरुद्ध ‘हुल अफ ल’ मा विश्वास गर्ने कथित पूर्वाग्रही र विवादास्पद व्यक्तिलाई छानबिन आयोगको अध्यक्षमा नियुक्त गर्दा आयोगको निष्पक्षता, तटस्थता र विश्वसनीयतामा ठूलो प्रश्न उठेको भन्दै सो व्यक्तिप्रति निष्पक्षताको विश्वास नजर अन्दाज गरी उक्त आयोग खारेज गरी सर्वपक्षीय, तटस्थ र विश्वासिलो जाँचबुझ आयोग तुरुन्त गठन गर्न माग गरेको छ। संगठनले सार्वजनिक तथा निजी सम्पत्तिमा गरिएको तोडफोड र आगजनीमा संलग्नलाई कानूनी कारबाही नगर्ने निर्णयहरूले देशभक्त र न्यायप्रेमी जनताको मनोबल गिराएको ठहर गर्दै ऐतिहासिक र सार्वजनिक महत्वका ठाउँहरूमा आगजनी तथा तोडफोड गर्ने जो कोहीलाई तुरुन्त कानूनी कठघरामा उभ्याउन माग गरेको छ।

अनेरास्ववियुले नेपाली जनताको सार्वभौमिक हक–अधिकारको उलंघन गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै,यस्ता गतिविधिहरू नरोकिए नेपाल र नेपाली जनताको पक्षमा आवश्यक सबै कानूनी, लोकतान्त्रिक र संगठित कदम चाल्न बाध्य हुने भन्दै ध्यानाकर्षण गराएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।