जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ सहित २० जिल्लामा ’रेड अलर्ट’ अर्थात उच्च जोखिमको चेतावनी जारी गरेको छ ।
उच्च जोखिम भएका केही राजमार्गमा सवारी साधन होल्ड समेत गरिएको छ। गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले रेड अलर्ट जारी गरेको हो ।महाशाखाको सूचना अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको सम्भावना छ । यि २० जिल्लामा रेड अलर्ट जारी भएको हो । यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा पनि आज बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।
साथै आज कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना देखिएको महाशाखाको सूचनामा भनिएको छ । आज बागमती र पूर्वी राप्ती नदीमा पानीको बहावले सतर्कता तह पार गर्ने सम्भावना छ । अविरल वर्षाका कारण आज बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ ।नागढुङ्गा खण्डमा बिहान ७ः०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बिहान ८ः३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







