नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाउने तयारी


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन अगावै विशेष महाधिवेशन हुनुपर्ने माग चर्को रुपमा उठेको छ ।

कांग्रेसका केही नेताले केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी समेत गरेका छन्। सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।केन्द्रीय समिति बैठकले आवश्यक ठानेर विशेष महाधिवेशन बोलाउन सक्न पहिलोे र ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाई हस्ताक्षरसहित लिखित माग गरेमा विशेष महाधिवेशन बोलाउन सक्ने दोस्रो विधि छन्। कांग्रेसभित्र असोजको पहिलो सातादेखि विशेष महाधिवेशनको हस्ताक्षर अभियान सुरु भएको थियो । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्नेहरूमा नेता डा. शेखर कोइराला, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर छन् ।संस्थापनइतरका नेताहरुको दाबीअनुसार हस्ताक्षर गर्नेहरूमा सभापति देउवा पक्षका पनि अधिकांश नेताहरु छन् ।

विशेष महाधिवेशन पक्षधर नेताहरुको अनुसार ४० प्रतिशत हस्ताक्षर पुगिसकेको छ । महामन्त्री थापा निकट एक नेताले भने, ‘हस्ताक्षर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हुनुपर्ने हो । ६०÷६५ प्रतिशत पु¥याउन सहजै सकिन्छ ।’ १४ औं महाधिवेशनमा चुनिएका ४ हजार ७४३ प्रतिनिधिबाट विशेष महाधिवेशन माग गर्न १ हजार ८९८ जनाको हस्ताक्षर पुग्नुपर्छ । लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनु पर्ने विधानको व्यवस्था छ । यही भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि कांग्रेसमा पार्टी पुनर्गठनको माग व्यापक उठेको छ । सभापति देउवाको नेतृत्वमा चुनावमा जान नसकिने निक्र्यौलसहित केही नेताहरु नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् ।

संस्थापनइतरका एक नेताका अनुसार पछिल्लो अवस्था, आसन्न केन्द्रीय समिति बैठक, विशेष महाधिवेशनको हस्ताक्षर तयारीबारे नेता डा. शेखर र महामन्त्री थापाबिच छलफलको तयारी भईरहेको श्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।