फागुन २१ को चुनावमा सक्रिय रुपमा भाग लिने माओवादी केन्द्रका संयोजक प्रचण्डको उद्घोष


     एभरेस्ट आवाज    
     असाेज २० गते २०८२ मा प्रकाशित




आगामी फागुन २१ मा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले सक्रिय सहभागिता जनाउने भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै विभिन्न कम्युनिष्ट घटकसँग एकताको प्रयास जारी राख्ने जनाएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागि हुने बताएका हुन् । उनले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए ।‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो’ उनले भने, ‘हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ ।’ उनले चुनावमा सहभागी हुने बारे अरू दलहरूसँग पनि संवाद भइरहेको जानकारी दिए ।

संयोजक प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको समेत ब्रिफिङ गरे । यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गराएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक दाहालले वर्तमान विपद् र राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेको जानकारी दिए। ‘वर्तमान परिस्थितीबारे सामान्य समीक्षा भयो। दुई दिनपछि फेरि सचिवालय बैठक बस्ने छ,’ सापकोटाले भने, ‘समाजवादी मोर्चालाई फेरि बिस्तार गर्ने सन्दर्भमा, पार्टी एकताका सम्बन्धमा कमरेड अध्यक्षले ब्रिफिङ गर्नुभयो।’सोही क्रममा पार्टी एकताका सन्दर्भमा पनि बृहत् र सकारात्मक छलफल भइरहेको कुरा संयोजक दाहालले भनेको उनले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।