निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८२ मा प्रकाशित




निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावको विषयमा राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादबिनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आलोचना भइरहेका बेला आयोग छलफलको तयारीमा जुटेको हो ।

यसअघि गत भदौ २३ गते दलसँग आयोगले छलफल गर्ने तयारी गरेकोमा जेनजीको आन्दोलनले प्रभावित भएपछि केही ढिला भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले आयोगले अब जतिसक्दो चाडै राजनीतिक दलसँग छलफल गर्ने तयारी गरिएको बताए ।

आयोग उच्च स्रोतका अनुसार भने आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलसँग छलफल गर्न लागेको हो ।

गत निर्वाचनमा प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सीट ल्याएका सबै दलसँग छलफल गर्न लागिएको एक पदाधिकारीले जानकारी दिए । त्यस्ता दलको संख्या २८ वटा रहेको छ । ती दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलमा बोलाउनका लागि पत्राचार गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

तालिकामा मनोनयन दर्ता मिति उल्लेख नगरेकोमा पनि दलहरूले आलोचना गरिरहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यतालिका मात्रै सार्वजनिक भएको भन्दै निर्वाचन कार्यक्रममा मनोनयन दर्ताको समय तोकिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।