तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०८२ मा प्रकाशित




तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् ।

गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताए ।

व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ । ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए । बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनको भनाई छ ।

घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् । उनका अनुसार दुई दशमलव पाँच किलोमिरट सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छभने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।