नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरुको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताउनुभयो । “यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ’’, उहाँले भन्नुभयो, “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।’’
कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका इञ्चार्ज डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्ने बताउनुभएको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






