सन्देश श्रेष्ठ
पोखरा, असोज २३
गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसन पोखराले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका सवारी साधन बनाउने जिम्मा दिन माग गरेको छ । एशोसियसनले विहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई जलेका सबै सवारी साधन बनाउने जिम्मा दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो । भ्रष्टाचारको अन्त्य, सुशासनलगायतको माग राखेर गत भदौ २३ गतेदेखि जेनजी पुस्ताले थालेको आन्दोलनको दोस्रो दिन भदौ २४ गते देशभरका सार्वजनिक कार्यालय तथा सरकारी सवारी साधनमा तोडफोड तथा आगजनी भएका थिए । सो क्रममा गण्डकीमा मात्रै ४८ वटा भवन र ३ सय वटा सवारी साधन जलेको सरकारी तथ्याङ्क छ ।

एशोसियसनले तिनै सवारी साधनलाई मर्मतसम्भार गरेर राज्यको ठूलो ढुकुटी बचाउन सकिने दाबी गरेको छ । आगजनी भए पनि फलाम नजल्ने भएकाले त्यसलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिने एशोसियसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । जलेका सवारी साधनको मर्मतसम्भार गर्ने जिम्मा हामी लिन तयार छौं,उनले भने,‘हामीसँग भएको स्रोत र साधनको प्रयोग गरेर अधिकांश सवारी साधनलाई नयाजस्तै बनाउन सकिन्छ ।’ यसो गरेमा राज्यको अर्बौंको सम्पती विदेश जानबाट रोक्न सकिने उनको भनाई छ । पुरानैलाई बनाउन सकिन्छ भने किन नया किनेर राज्यको सम्पतीको दोहन गर्ने ? उनले भने,‘नेपालमा बन्ने होईन गाडीहरु, सबै विदेशबाट ल्याउँदा हरेक नेपालीको टाउको ऋण थोपरिन्छ, त्यसैले थप ऋण बोक्नबाट जोगाउन यहिंका जलेका सवारी साधन मर्मत सम्भार गर्न हामीले माग गरेका हौं ।’
पुराना सवारी साधन मर्मतसम्भार गरेर नयाजस्तै बनाउँदा राज्यको सम्पती ७० प्रतिशत जोगिने उनले दाबी गरे । ३० देखि ३५ प्रतिशतमा पुराना सवारी साधनलाई मर्मतसम्भार गरेर नयाजस्तै बनाउन सकिन्छ,उनले भने,‘यसो गरेमा राज्यको ७० प्रतिशत जोगिन्छ ।’ तर शुरुमा कुन सवारी साधनमा कति क्षेती छ र त्यसको मर्मतसम्भार गर्न सकिन्छ सकिन्छ कि सकिदैन भन्ने यकिन गर्नुपर्ने उनले बताए । त्यसपछि मात्रै क्षेतीको आधारमा मर्मतसम्भारका लागि लाग्ने खर्चको यकिन गर्न सकिने उनको भनाई छ ।
एशोसियसनका महासचिव बिजेन्द्र चौधरीले जलेका गाडी पुरानै स्वरुपमा नयाजस्तै हुने दाबी गरे । जलेकालाई बनाएर जस्ताको तस्तै बनाउन सकिन्छ,उनले दाबी गर्दै भने,‘यो ज्ञारेन्टी नै गर्छौं ।’ उनले राज्यलाई भार थप्नुभन्दा जलेकालाई बनाएर प्रयोग गर्न आग्रहसमेत गरे ।
एशोसियसनका निवर्तमान अध्यक्ष सन्तोषकुमार मिश्रले जलेका सवारी साधन मर्मतसम्भार गर्ने जिम्मा दिए सहुलियत दरमा गर्न सकिने बताए । यसले अटोमेकानिकल क्षेत्रले काम पनि पाउने र राज्यको सम्पती पनि जोगिने उनको भनाई छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्षेतीको यकिन पछि एशोसियसनसँग मर्मतसम्भारका लागि छलफल गर्न सकिने बताईन् । कति क्षेती पुगेको छ ? र मर्मतसम्भार गरेर चलाउन सक्ने बन्छ कि बन्दैन भन्ने जिज्ञासा राख्दै उनले भनिन्,‘पहिले क्षेतीको यकिन गरौं, त्यसपछि छलफल गरेर अगाडि बढ्न सकिन्छ ।’
कास्कीको पोखराबाट शुरु भएको यो अभियान देशव्यापी बन्ने एशोसियसनको अपेक्षा छ । यसले देशमा रोजगारीको सिर्जनासँगै राज्यको धनसम्पती जोगिने दाबी एशोसियसनको प्रचार संयोजक कृष्ण थापाले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







