पोखरा, असोज २४ ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराका पूर्व प्राचार्यहरूले विद्यापीठमा आर्थिक अनियमितताको आरोप अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका छन्।
असोज २३ गते बिहिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) का नाममा दामोदर संजेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यापीठमा लामो समयदेखि आर्थिक अनियमितता भएको आरोप लगाइएको थियो। सो आरोपप्रति विद्यापीठका स्थापना कालदेखि हालसम्मका पूर्व प्राचार्यहरूको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरूले त्यसको कडा खण्डन गरेका छन्।
पूर्व प्राचार्यहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यापीठमा हालसम्म भएका सम्पूर्ण आर्थिक गतिविधिहरु विधिविधान र नियमसम्मत रूपमा सम्पन्न भएका छन्। विद्यार्थी कल्याणकारी कोष नामक कुनै कोष नै नभएको र छात्रवृत्ति योग्य विद्यार्थीहरूलाई मात्रै वितरण गरिएको छ।”
उनीहरूले लेखा प्रमुख दुर्गारमण पराजुलीको नामसमेत उल्लेख गरी प्रकाशित गरिएको विज्ञप्तिको भर्त्सना गर्दै विद्यापीठको प्रतिष्ठा र वातावरणलाई दूषित पार्ने उद्देश्यले तथ्यहीन आरोप नलगाउन सचेत गराएका छन्।
विज्ञप्तिमा हस्ताक्षर गर्ने पूर्व प्राचार्यहरूमा प्रा. श्रीराम बराल, प्रा.डा. शालिकराम सुवेदी, सह–प्रा. अम्बिकाप्रसाद भट्टराई, सह–प्रा. नारायणप्रसाद सापकोटा, प्रा.डा. जगन्नाथ रेग्मी, सह–प्रा. आनन्दमणि रिजाल र सह–प्रा. डा. काशिनाथ कण्डेल रहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा जलेको अवस्थामा भेटिएको कारभित्र एकजना पुरुष मृत अवस्थामा भेटिएका…





