अध्यक्ष ओली बिरामी भएपछि एमालेको सचिवालय बैठक स्थगित,केन्द्रिय कमिटीको बैठक असोज २९ मा


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको सचिवालय बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

शुक्रबार भक्तपुरस्थित ओली निवासमा सुरु भएको सचिवालय बैठक दोस्रो दिन आज पनि जारी रहने तालिका थियो।तर अचानक अध्यक्ष केपी शर्मा ओली बिरामी भएको खबर आएपछि बैठकमा सहभागी हुन जाँदै गरेका नेताहरू बिच बाटैबाट फर्किएका छन्। एमाले सचिव पद्मा अर्यालले आजलाई सचिवालय बैठक स्थगन गरिएको जानकारी दिइन्। ‘अध्यक्ष बिरामी हुनु भो, अब बैठक भोलि आइतबार बिहान ११ बजे मात्र बस्छ’,उनले भनिन्।बैठकको पहिलो दिन राति अबेरसम्म खटेकाले ओली अस्वस्थ भएको बताइएको छ।

सचिवालयको हिजोको बैठकमा बहुमत सदस्यले ओलीलाई नेतृत्व त्याग्न सुझाव दिएका छन्।यसैबिच एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ गते बस्ने भएको छ।यसअघि असोज २७ र २८ गतेका लागि तोकिएको बैठक तयारी नपुगेको भन्दै दुई दिन पछि सारिएको हो। पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीले जारी गरेको सूचना अनुसार, अब केन्द्रीय कमिटीको बैठक यही असोज २९ गते ललितपुरको जाउलाखेल, भनिमण्डलस्थित राम वाग महलमा बस्ने भएको हो।

सम्पूर्ण केन्द्रीय कमिटीका सदस्यहरूलाई असोज २९ गते बिहान ११ बजे बैठकमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।