नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले दूरगामी रूपमा सञ्चालन भएर प्रतिफल दिनसक्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ ।
समितिले गत असोज १२ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । समितिले विमानस्थलको डिजाइन फिचरमै प्रश्न उठाएको छ । अहिलेको रनवे संरचना र अप्रोच पाथ नै गलत भएकोले यसले दिगो र प्रतिफलयुक्त विमानस्थल बन्नै नसक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।विमानस्थलको रनवे अहिले २५०० मिटर मात्रै छ जुन पोखराको भू(बनोटमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्याप्त नभएको बताइएको छ । मिस्र अप्रोच पाथ समेत गलत तरिकाले डिजाइन भएको पाइएको र यो अवस्थाले डेढ घण्टाभन्दा लामो दूरीबाट आउनुपर्ने अन्तर्राष्ट्रिय उडान पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अवस्था नरहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा मिस्ड एप्रोच पाथ परिवर्तन गरेर र लोड घटाएर विमानस्थलमा ठुला जहाज अवतरण गर्न सकिने उपाय सुझाएको छ । तर व्यावसायिक र प्रतिफलको हिसाबले यो सम्भव छैन । यस अर्थमा पोखरा विमानस्थलको आधारभुत डिजाइन संरचनामा नै प्रतिवेदन ले प्रश्न उठाएको छ । पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको सम्बन्धमा अध्ययन गर्न यसअघि संसदीय समिति लगायतले समिति गठन गरेका थिए । ती समितिहरूले डाँडो काटेर माटो बेचिएको, रनवेमा पर्याप्त उचाइमा माटो नभरिएको जस्ता विषय उल्लेख गरेका थिए ।
उक्त समितिलाई सुरुमा नागरिक उड्डयनसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय नीति निर्माण, हवाई सुरक्षा तथा सुदृढीकरण, विगतमा गठन गरिएका अध्ययन तथा दुर्घटना जाँच समितिको प्रतिवेदनबाट प्राप्त सिफारिस, घटना रिपोर्टिङ र अनुसन्धान प्रक्रिया, खोज तथा उद्दार, लाइसेन्स प्रक्रिया, आईकाओ र युरोपियन युनियनले उठाएका सवाल लगायत १४ वटा विषयमा अध्ययन गरी सुझाव पेस गर्ने कार्यादेश थियो । पछि गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र नेपाल वायु सेवा निगमको सञ्चालनको सम्बन्धमा समेत सुझाव दिने कार्यादेश थप गरिएको थियो ।अध्ययनका क्रममा नागरिक उड्डयनसँग सम्बन्धित १४ वटा संस्था तथा १०६ जना व्यक्तिसँग छलफल गरिएको थियो ।समितिले अध्ययन सकेर बनाएको ६९१ पृष्ठ लामो प्रतिवेदनमा पेस गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







