विगत दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको अवस्थाका विषयमा विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग ‘भिडियो कन्फरेन्स’ भएको छ ।
उक्त भिडियो कन्फरेन्समा जोडिएका विपिनका परिवारका सदस्य किशोर जोशीले आज नियन्त्रण मुक्त हुन लागेका २० जना बन्धकमा विपिनको नाम नरहेको इजरायली सरकारका तर्फबाट इजरायली डिफेन्स फोर्स ९आइडिएफ० ले जानकारी गराएको बताए । “आज छुट्ने लिष्टमा विपिनको नाम छैन फेरि पनि हामी निरन्तर अपडेट गर्छौँ भनेर इजरायलबाट भनिएको छ”, जोशीले भने, “अहिले छुट्नेमा विपिनको नाम नरहे पनि हामी उहाँ छुट्नेमा पूर्ण आशावादी छौँ, अहिले नै उहाँ छैनन् भन्न मिल्दैन ।” जोशीका अनुसार इजरायली प्रतिनिधि, संयुक्त राज्य अमेरिकाबाट विपिनका आमा र बहिनी, इजरायलस्थित नेपाली राजदूत र आफूसहितको भिडियो कन्फरेन्स आज बिहान भएको बताए ।
विपिनको नाम जीवित बन्दको सूचीमा नरहेको समाचारहरू प्रकाशित भइरहेका बेला विपिनको परिवारजनले भने अर्को चरणमा छुट्नेमा आशा रहेको जनाएको छ । दुई वर्षको अवधिमा भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २ सय भन्दा बढी बन्धक यसअघि नै छाडेको थियो । विपिनको सकुशल रिहाइका लागि उनको परिवार र नेपाल सरकार लामो समयदेखि प्रयासरत छन् । विपिनका आमा र बहिनी उनको खोजी कार्यमा पहलकदमी गरिदिन गुहार माग्न अमेरिका पुगेका छन् भने बुवा महानन्द जोशी महेन्द्रनगरमा छोरा विपिनको व्यग्र प्रतीक्षामा छन् ।चौबिस वर्षीय नेपाली युवा जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए । उनी कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।
कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो । उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि जोशी घाइते भएर अपहरणमा परेका थिए ।इजरायली अधिकारीहरूले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन् । इजरायली राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि छलफल अघि बढ्नेछ ।
हमास र इजरायलबीचको यो सम्झौता सन् २०२३ अक्टोबरमा सुरु भएको दुई वर्षभन्दा बढीको युद्ध अन्त्यतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । ट्रम्पले प्रस्ताव गरेको २०–बुँदे शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनका रूपमा यो आदानप्रदान सम्पन्न हुन लागेको हो । रिहा हुने बन्धकहरूका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन् ।
इजरायली सरकारका अधिकारीहरूका अनुसार ‘यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो । गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा…






