नियमित महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव, कांग्रेस सभापति देउवाद्वारा अस्वीकार


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

केन्द्रीय समितिमा पेस गर्ने एजेन्डाबारे नेपाली कांग्रेसका सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफलका क्रममा सभापति देउवाले सो प्रस्ताव अस्वीकार गरेको देउवा निकट स्रोतले जानकारी दियो । सकेसम्म मंसिरभित्रै नियमित महाधिवेशन गर्न सभापतिसँग प्रस्ताव गरेका थिए।महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन मंसिर भित्र हुन सकेन भने विशेष महाधिवेशनका लागि जानुपर्ने बाध्यता रहेको सभापतिलाई जानकारी गराएका छन्।देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका थिए ।केन्द्रीय समितिमा सभापतिसँगको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन भएकाले महामन्त्रीद्वय थापा र शर्मा एजेण्डाका विषयमा छलफल गर्न देउवा निवास पुगेका थिए ।

एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गर्ने तयारी भएको छ । बैठकमा प्रस्तुत गरिने एजेन्डामा सहमति नजुटेपछि देउवाले वक्तव्य पढेर बैठक स्थगित गर्ने र एजेन्डा तय गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्ने तयारी छ ।मंगलबारपछि केन्द्रीय समिति बैठक बिहीबार राख्ने तयारी छ ।

यसैबिच कांग्रेसका नेता मोहन बस्नेतले अब नियमित महाधिवेशनमा जानुपर्ने तर त्यसका लागि महामन्त्रीहरू नै तयार नभएको आरोप लगाए। ‘अझ नियमित महाधिवेशन गर्नका लागि जोजो अहिले विशेष महाधिवेशन भनेर कराइराख्नुभएको छ उसैलाई क्रियाशील सदस्यता छान्ने, व्यवस्थापन र अधिवेशनमा जानका लागि तयारी गर्ने प्रक्रियाको उहाँलाई जिम्मेवार संयोजक बनाएको छ,’ उनले भने। यो कुरा उनले महामन्त्री गगन थापालाई लक्षित गरेर भनेका हुन्।

‘आफूलाई लागेको जिम्मेवारी पूरा गर्न नसक्ने, नियमित महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यताको प्रक्रिया नटुङ्ग्याउने, अहिलेसम्म जिल्ला जिल्लाको विवाद यथावत् राख्ने, अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन भन्नेरु,’ बस्नेतले भने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।